मधेशमा खानेपानीको हाहाकार : दमकलबाट बस्ती-बस्तीमा बाँडिँदै

असार ३२, २०८२

अजित तिवारी

Drinking water crisis in Madhesh: Distribution from fire brigade to slums

जनकपुर — खडेरीसँगै मधेशमा चर्किएको खानेपानीको अभाव टार्न मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वारुणयन्त्र परिचालन गरेका छन्। मुहान सुक्दा बारा र पर्सामा खानेपानीको चरम अभाव छ।

अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय सास्ती भोग्न बाध्य छन्।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले असार मसान्तमा खरिद गरेको ८ वटा वारुणयन्त्र जनकपुरमा राखिएको थियो। स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रहेको ८ वटै वारुणयन्त्र मुख्यमन्त्री सिंहले बुधबार बिहान खानेपानी वितरण गर्न पठाएका हुन्। खानेपानीको अभाव टार्न मुख्यमन्त्री सिंहले नेपाली सेनालाई तत्कालका लागि वारुणयन्त्र जिम्मा लगाएका छन्। वारुणयन्त्रको इन्धन र अन्य प्रबन्ध भने प्रदेश सरकारले नै गर्ने जानकारी उनले दिए।

Drinking water crisis in Madhesh: Distribution from fire brigade to slums‘लामो समयदेखि पानी नपर्दा मधेश प्रदेशका जिल्लामा खानेपानीको समस्या छ। त्यही समस्या टार्न वारुणयन्त्र परिचालन गरिएको हो,’ मुख्यमन्त्री सिंहले भने, ‘तत्काल प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्र, नेपाली सेनाको छुट्टै थप ७ वटा ट्यांकर र वन कार्यालयका ३ वटासमेत १८ वटा गाडीबाट बस्ती–बस्तीमा खानेपानी वितरण भइरहेको छ।’

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णय गरी प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्र खानेपानी संकटबाट अति प्रभावित क्षेत्रमा पठाइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिए। ‘एउटा वारुणयन्त्र ५ हजार लिटर क्षमताको छ,’ प्रेस सल्लाहकार झाले भने, ‘खानेपानी समस्या रहेको स्थानमा वारुणयन्त्र २४ सै घण्टा परिचालित रहनेछ।’

सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको मुख्यमन्त्री सिंहले बताए। उनले मधेशमा देखिएको खानेपानीको समस्या टार्न मंगलबार साँझ संघीय खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गरेका थिए।

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully