राजविराज — सप्तरीको बोदेबरसाइन नगरपालिका–४ सिल्हट पर्साहीका १ सय २० परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।
नगरपालिकाको संयोजनमा नापी कार्यालय सप्तरी, ३ नम्बर नापी टोली राजविराजले बुधबार आयोजना गरेको कार्यक्रमका बीच उनीहरूलाई लालपुर्जा वितरण गरिएको हो ।
‘साविक फुलकाही गाउँ विकास समिति वडा नम्बर ६ देखि ९ सम्मका लगभग ६० प्रतिशत घरधुरीलाई लालपुर्जा वितरण गरिसक्यौं, अन्यलाई पनि लालपुर्जा प्रदान गर्न २१ दिने सूचना निकाल्न लागेका छौं’ टोलीका प्रमुख सतिश यादवले भने, ‘केहीमा नक्साको समस्या देखिएर वितरण गर्न सकिएन, सुधार गरेर छिट्टै हामी ती लालपुर्जा पनि वितरण गर्छौं ।’
नगर प्रमुख आतेशकुमार सिंहले अन्य वडाका गाउँब्लक जग्गाको पनि लालपुर्जा वितरण गर्न नापीसँग समन्वय भइरहेको बताए । ‘पुस्तौंदेखि गाउँब्लक जग्गामा बसोबास गरिरहेकाले लालपुर्जा नहुँदा अनेकथरी समस्या भोग्दै आएका थिए, ती समस्यालाई मध्यनजर गर्दै निरन्तर नापीसँग समन्वय गर्दै आएर अहिले लालपुर्जा वितरण कार्य शुभारम्भ भएको छ,’ उनले भने, ‘अब बिस्तारै नगरभरिका गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने छौं ।’
