मधेशमा १ हजार रुपैयाँका २२० योजना 

पाँच लाखमुनिका योजना ७ हजारभन्दा बढी

असार ३१, २०८२

कमलेश ठाकुर

220 schemes of 1000 rupees in Madhesh

जनकपुर — मधेश सरकारले संसद् छलेर ल्याएको योजना सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा ३०२ पृष्ठको पाँच लाखमुनिको योजना सार्वजनिक गरेको छ ।

यी सबै योजनाहरू योजना सूचना प्रणाली (पीएलएमबीएस) मा लक गरिएको छ । तर, सरकारले संसद्‍मा प्रस्तुत गरेको रेडबुक र सांसदलाई वितरण गर्दा समावेश गरिएको थिएन । चौतर्फी विरोध भएपछि सरकारले वेबसाइटमा अपलोड गरेको हो ।

मधेशमा हजार रुपैयाँकै २ सय २० योजना राखिएको छ भने पाँच लाखमुनिका ७ हजारभन्दा बढी योजना छन् । यसमा ४ लाख ९८ हजारदेखि एक हजार रुपैयाँसम्मको योजना रहेको देखिएको छ । योजनाको शीर्षक महत्त्वपूर्ण भए पनि रकम मात्र एक हजार राखिएको छ ।

सरकारले रेडबुकमा नराखेका योजनाहरूमा विद्यालय भवन निर्माण, स्तरोन्नती, धर्मशाला निर्माण तथा स्तरोन्नति, अधुरो भवन निर्माण, बाउन्ड्रीवाल निर्माणका लागि १/१ हजारको दरले रकम विनियोजन देखिन्छ । शिक्षा तथा संस्कृति मन्त्रालयले बाराको सिम्रौनगढमा भेटेरिनरी कलेज तथा अनुसन्धान केन्द्र स्थापनाका लागि १ हजार रुपैयाँ विनियोजन गरेको छ ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले सीता सर्किट निर्माण कार्यका लागि १ हजार रुपैयाँ विनियोजन गरेको छ । यसका लागि मन्त्रालयले पहिले नै डीपीआर गरिसकेको छ । यस्तै प्रदेश आर्थिक क्षेत्र निर्माण, मधेश प्रदेशमा साहसिक पर्यटन विकास निर्माणका लागि १/१ हजार रुपैयाँ विनियोजन गरिएको छ । मन्त्रालयले यी आयोजनाको डीपीआर पहिले नै गरिसकेको छ ।

बजेटमा बिचौलिया हाबी भएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले प्रदेशसभा बैठकलाई अवरोध गर्दै आएपछि उक्त विषयमा छानबिन गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलले अनुगमन गर्दा प्रदेशसभा सदस्यलाई उपलब्ध गराइएको तथा सार्वजनिक गरिएको र बजेट सूचना प्रणालीमा प्रविष्ट भएको योजना फरक पाएको थियो ।

कार्यदलमा रहेका प्रतिपक्षी दलका ६ जना सदस्यले रेडबुकमा रहेका योजनाहरू मात्र राखी बाँकी योजना खारेज गर्नुपर्ने भनेपछि कार्यदलमै मतभेद देखिएपछि कार्यदल नै भंग भएको थियो । त्यसपछि प्रदेशसभा बैठक प्रतिपक्षी दलका सांसदहरूले बहिष्कार गरेका थिए । प्रतिपक्षी दलको अनुपस्थितिमा सरकारले बजेटसमेत पारित गराएको छ ।

प्रदेशसभा सदस्य उपेन्द्र महतोले सरकारले रकम हस्तान्तरण गर्नका लागि मात्र एक हजार राखेको बताए । ‘बजेटको सेलिङ बराबरको योजना त कमिसन लिएर सरकारले बेचिसक्यो । मन्त्री र सरकार निकटका योजनाहरू राख्नै छुट्यो,’ उनले भने, ‘त्यसपछि एक हजार मात्रै राखेर योजना ल्याएको छ। पछि रकम हस्तान्तरण गरेर बढाउँछ ।’अर्का प्रदेशसभा सदस्य कनिश पटेलले सरकारको नियतप्रति आपत्ति जनाए । 

सरकारले रेडबुकमा पाँच लाखभन्दा कमको योजना मिडिया र आलोचना हुने कारण नराखेको अर्थमन्त्री सुनिलकुमार यादवले स्वीकार गरे। तर, सरकारको बचाउ गर्दै संघीय सरकारमा पनि यस्तो अभ्यास भइरहेको उनले बताए । इमान्दारीपूर्वक पाँच लाखभन्दा कमको योजना आएको र यसलाई लुकाउने काम भएको होइन भनेर प्रदेशसभा सदस्यलाई उनले आग्रह गरे ।

‘यो लुकाउने काम भएको छैन। यो किताबलाई व्यवस्थित बनाउन मात्र गरिएको हो। भोलिको दिनमा मिडियाले हेर्दा यो कुरालाई नकारात्मक टिकाटिप्पणी गर्थ्यो, त्यसका लागि हामी यस्तो कदम उठाएका हौं,’ अर्थमन्त्री यादवले भने।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully