मधेशको बजेटमा सत्तापक्षकै सांसदको आक्रोश

असार ३०, २०८२

कमलेश ठाकुर

MP's anger over Madhesh's budget

जनकपुरधाम — मधेश प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सकिएको छ ।

सोमबार विनियोजन विधेयक–२०८२ माथिको छलफलमा भाग लिएका सत्तारुढ दलका अधिकांश सांसदले बजेटप्रति आक्रोश व्यक्त गरेका थिए ।

सत्तारुढ नेकपा एमालेका सांसद लखन दासले मन्त्रीबाहेक सबै सांसद बजेटबाट असन्तुष्ट रहेको बताए । शिक्षामन्त्रीले बजेटमा काखापाखा गरेको उनको भनाइ छ । यस प्रकारको असामावेशी बजेटले शिक्षालाई संस्थागत विकास गर्न समस्या हुने उनको जिकिर छ ।

शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले आफ्नो निर्वाचन क्षेत्र महोत्तरी ३ को ‘२’ मा ४१ करोड रुपैयाँ राखेको उनले बताए । ‘एक सय १७ वटा योजना मन्त्रीको निर्वाचन क्षेत्रमा छन्,’ उनले भने, ‘अधिकांश योजना एनजीओ पाल्ने गरी राखेको छ ।’

सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उपेन्द्र महताले संसद् छलेर ल्याएको ७५५ पृष्ठसहितको रेडबुक उपलब्ध नगराए बजेट बहिष्कार गर्ने बताए । ‘जनतालाई कसरी कति पृष्ठ रेडबुकको जवाफ दिऊँ,’ उनले भने, ‘हामीलाई दिइएको छ ४६१ पेजको रेडबुक तर अर्थ मन्त्रालयमा ७५५ पेजको योजना लक भएको छ ।’ रोस्ट्रम नछाडेर त्यहीँ उभिएपछि सभामुखले सचिवालयबाट उपलब्ध हुने आश्वासन दिएपछि सांसद महतोले रोस्ट्रम छाडेका थिए ।

कांग्रेस सांसद वीरेन्द्र सिंहले सरकारको बेथिति भनिसाध्य नरहेको बताए । मन्त्रीलाई सपथ गराउनुअघि कार्यक्षेत्र बुझाउनुपर्ने उनले सुझाव दिए । सुशासनको गफ दिएर मन्त्रीहरुले कुशासन झलझली देख्ने गरी बजेट ल्याएको उनले बताए ।  

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully