जनकपुरधाम — मधेश प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल नहुँदै (आज) सोमबार पारित गराउने तयारी छ। बजेटको त्रुटिमाथि छानबिन गर्न बनेको कार्यदलमा मतभेद देखिएपछि भंग भइसकेको छ । छानबिन कार्यदलमा रहेका प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले सरकारले संसद् छलेर ५ अर्बभन्दा बढीको योजना ल्याएको आरोप लगाएका छन्।
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलका अनुसार सरकारले संसद्मा प्रस्तुत गरेको बजेट पुस्तिका ४६१ पृष्ठको मात्र थियो। तर, पीएलआइएमएसमा ७५५ पृष्ठसहितको योजना लक भएको छ। त्यसअधारमा सरकारले २९४ पृष्ठको योजना संसद् छलेर ल्याएको सांसद कनिशको आरोप छ ।
‘कार्यदलले अर्थ मन्त्रालयको कर्मचारीसँग पीएलआइएमएसमा लक भएको र संसद् छलेर ल्याएको २९४ पृष्ठमा कति योजना छ ? कति रकम बराबरको छ ? माग गर्दा दिइएन,’ उनले भने,‘सरकारले छानबिन नहोस् भनेर सुरुदेखि लागेको थियो। कर्मचारीलाई पनि त्यही अनुसारको निर्देशन दिएको छ ।’
उनका अनुसार कार्यदलले रेडबुकमा भए/नभएको योजनामाथि छलफल गरेको थियो । प्रतिपक्ष दलका सांसदहरुले रेडबुकमा नभएको योजनाहरु खारेज गर्न माग गर्दा सत्तापक्षका सांसदहरुले नमानेपछि कार्यदल भंग भएको छ । ‘सरकारले बजेट आफ्नो हिसाबले बनाउँछन् । त्यसमा हाम्रो केही छैन,’उनले भने,‘तर, संसद्लाई छलेर ल्याउनु भएन। यो सांसद्संग मात्रै होइन, जनतासंगको धोका हो ।’
राप्रपाका सांसद कञ्चन विच्छाले सरकारले चोरबाटो अपनाएको बताइन् । सरकारको नियत सुरुवातदेखि नै शंकास्पद देखिएको उनको भनाइ छ । ‘सुरुमा सरकारले कार्यदल नै बनाउन चाहेन। बनाएपछि जोमाथि आरोप छ, उसैलाई कार्यदलमा राखियो,’ उनले भनिन्,‘प्रतिपक्षको खबरदारीपछि सरकार ब्याक त भयो । तर, निष्पक्ष रुपमा काम गर्न दिएन। बहुमतको दम्भ देखायो ।’
जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक रामअशिष यादवले आजको बैठक बहिष्कार गर्ने तयारी भइरहेको बताए । ‘सरकारले बहुमतको आडमा प्रतिपक्षलाई हेप्न खोजेको छ । हामी शान्तिपुर्ण रुपमा विरोधको तयारी गरिरहेका छौं । तर, सरकारले प्रहरी प्रशासन अहिलेदेखि राखेर तर्साउन खोजेको छ,’ उनले भने,‘सरकारले कानूनलाई धज्जी उडाएर, जनताको राजस्वको दुरुपयोग गरेर बजेट ल्याएको छ । र, त्यही बजेट पास गराउन चाहेको छ ।’
प्रतिपक्षले निरन्तर प्रदेश सभा बैठक अवरुद्ध गरेपछि सरकारले गत शुक्रबार सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो । त्यसमा सत्तापक्षबाट भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यदलमा राखेपछि प्रतिपक्षले अवरुद्ध गर्दै आएको थियो । त्यसपछि कार्यदल संयोजक सभामुख मण्डलले राजीनामा दिएपछि उपसभामुख नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाइएको थियो । उक्त कार्यदलमा उपसभामुख संयोजक, सत्तापक्षको सात र प्रतिपक्षको ६ जना सांसद रहेको थियो ।
उपसभामुख बबिता राउत ईशरको संयोजक, कार्यदलको सदस्यहरुमा मो. समीर, शारदा देवी थापा, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रामअशिष यादव, कनिष पटेल, जवाहरलाल कुशवाहा, विमला अन्सारी तरन्नम, कञ्चन विच्छा, उर्मिला देवी सिंह रहेका थिए ।
आज (सोमबार) विहान ८ बजे नै प्रदेशसभा बैठक आहृवान गरिएको थयो । तथापी ९ बजेर ४५ मिनेट सम्म बैठक सुरु भएको छैन् । आज मधेश प्रदेशसभामा विनियोजन विधेयक अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्तुत गर्ने, आर्थिक विधेयकमाथि प्रस्ताव गरियोस भने पेश गर्ने, आर्थिक विधेयकमाथि छलफलमा उठेको प्रश्नको जवाफ दिने र आर्थिक विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
