सरकारलाई समर्थन गरेपछि ‘गुलाम’ बनायो : सत्तापक्षका सांसद उपेन्द्र

असार ३०, २०८२

कमलेश ठाकुर

Made a 'slave' after supporting the government: ruling party MP Upendra

जनकपुरधाम — सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद उपेन्द्र महतोले सरकारलाई समर्थन गरेपछि 'गुलाम' बनाएको भन्दै बजेटको विरोध गरेका छन् । सोमबार बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

'पढ्दै नपढेको, हेर्दै नहेरेको योजनाको बारेमा कसरी छलफल गरौँ?' उनले सरकारसँग प्रश्न गरे । ‘शोषित भएकोले शोषण गर्दैनन् भन्छन् । तर, तपाईँ आज बहुमतको बलमा, सत्ताको बलमा, समर्थन दिएको बलमा सबै मान्यजनलाई गुलाम बनाउनु भयो,’ उनले भने, ‘सरकारले आज नयाँ रेकर्ड बनाउँदै छ ।’

बिचौलियाले बजेट बनाएको भन्ने जनमत पार्टीको केन्द्रीय अध्यक्षकै निर्वाचन क्षेत्रमा एक सय १५ करोडको योजना गएको गएको बताए । ‘बिचौलियामा त तपाईँकै प्रवेश छ । कि सरकारभित्रै बिचौलिया छ ? सरकारले स्पष्ट पार्नु पर्छ,’ उनले भने ।

सरकारले घाटा बजेट प्रस्तुत गरेर प्रदेशमाथि चुनौती थपेको उनले बताए । आपत्तिजनक भएको भन्दै सरकारले 'आम्दानी अठन्नी, खर्च रुपैयाँ' गर्न खोजेको बताए ।

‘कृषिमा नारैनारासहित बजेट ल्याएको छ । एउटा नारा छ, उत्पादन मधेशमा, निर्यात देशमा — त्यो कुन आधारमा आएको छ ?’ उनले प्रश्न गर्दै भने, ‘जबकि जम्मा बजेट तीन अर्बको मात्रै छ । त्यस कारण फिड द नेशन होइन, फिड द मिनिस्टर क्याम्पेन नाम राखौँ ।’

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully