पाँचवटा हात्तीको समूहबाट सास्ती भोग्दै छन् जुडिबेलामा बासिन्दा
रौतहट — पर्सा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले घर भत्काउने र बाली नष्ट गर्न थालेपछि स्थानीयले आइतबार डिभिजन वन कार्यालय घेराउ गरेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला गाउँमा चार महिनादेखि जंगली हात्तीले घर भत्काउन थालेपछि स्थानीय आक्रोशित छन् । हात्तीलाई उद्धार गरेर निकुञ्ज लैजान स्थानीयले पटकपटक वनसँग माग गर्दै आएका छन् । जंगली हात्ती नियन्त्रणमा लिएर लैजान डिभिजन वन कार्यालयले पहल नगरेको उनीहरुको भनाइ छ ।
निकुञ्जबाट आएको यमगज नामको हात्ती ७ महिनादेखि रौतहटको चन्द्रपुरा–२ जुडिबेला र ३ को गैडाटार क्षेत्रमा अखडा जमाएर बसेको छ । हात्तीको खुट्टामा चोट लागेको छ । हात्ती नियन्त्रणमा लिई सुरक्षित स्थानमा सार्नुपर्ने माग राखे पनि कुनै सुनवाइ नभएको जुडिबेलाका कांग्रेस नेता गौरव बम्जनले बताए । 'घर भत्काउने, बाली खाने, स्थानीयलाई आक्रमण गर्न थालेपछि बाध्य भई वन कार्यालय घेराउ गर्नुपरेको हो,‘ उनले भने, 'अहिलेसम्म भौतिक क्षति मात्र भएको छ, भोलि मानिसमाथि आक्रमण गरेर क्षति पुग्यो भने कसले जिम्मा लिन्छ ?' वनलाई जानकारी गराउँदा थाकेर कार्यालय घेर्न आएको उनको भनाइ छ । अहिले जुडिबेलाको जंगलमा यमगजका साथै पाँचवटा जंगली हात्ती देखापरेको उनी बताउँछन् ।
शनिबार राति पाँचवटा हात्तीको समूह जुडिबेलामा पसेर दिलबहादुर राई, दीपा बल, लालबाबु मुक्तान र किरण बम्जनको घर भत्काएको छ । हात्तीको आक्रमणबाट जोगिन स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् ।
डिभिजन वन प्रमुख हेमन्त साहले हात्तीले गरेको क्षतिबारे वन विभागमा जानकारी गराइसकेको र नियन्त्रणमा लिन पनि भनेको बताए । ‘मैले माथिल्लो निकायमा भनिसकेको छु । अब माथिबाट के गर्ने भन्ने ठोस कुरा आउन बाँकी छ,’ उनले भने, ‘हात्तीले क्षति गरेकामा म पनि दु:खी छु । निकुञ्ज र सम्बन्धित निकायसित समन्वय भइरहेको छ ।’
दाहिने खुट्टामा गम्भीर चोट लागेर कमजोर हुँदै गएको यमगजले फेरि स्थानीयलाई दु:ख दिन थालेको छ । घर भत्काउने र बालीमा क्षति पुर्याउन थालेपछि केही दिनअघि स्थानीयले यमगजमाथि इँटाढुंगा, लाठी र आगो लगाएर धपाउने प्रयास गरेका थिए । दाहिने खुट्टामा चोट लागेर प्राय: एकै स्थानमा बस्ने हात्तीको चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामासहितको टोलीले डार्ट गरेर दुई पटक एन्टिबायोटिक दिएको थियो ।
