मृत्यु भएका व्यक्तिको नामबाट गौशाला मालपोतमा जग्गा खरिदबिक्री

लेनदेनमा विवाद हुँदा मालपोतद्वारा खरिदबिक्री रद्द

असार २९, २०८२

सन्तोष सिंह

Sale and purchase of land in Gaushala Malpot in the name of a deceased person

महोत्तरी — गौशाला मालपोत कार्यालय, महोत्तरीले मृतकको नाममा जग्गा खरिदबिक्री गरेको घटना सार्वजनिक भएको छ  । मालपोतका कर्मचारी र भूमाफियाले चलखेल गरी नभएका व्यक्तिलाई जग्गाधनी बनाई महोत्तरीमा जग्गा खरिदबिक्री गरिएको भेटिएको हो ।

साविकको शिवभक्ति खोर २ (ख) कित्ता नं. १८३ को ०–५–१२ १/२ क्षेत्रफल भएको पर्सादेवाडाका महेश चौधरीको नाममा रहेको, र उक्त जग्गामा घरबाटो नभएको, कृषि क्षेत्रमा वर्गीकरण गरिएको भनी गौशाला नगरपालिका–४ का वडाध्यक्ष रामनारायण महासेठले २०८२ असार ६ गते सिफारिस गरेका थिए । वडाबाट सिफारिस भए पनि जग्गाधनी महेश चौधरीको मृत्यु भइसकेको थियो ।

जग्गाधनीको मृत्यु भइसकेको अवस्थामा नक्कली जग्गाधनी खडा गरी उक्त जग्गा गौशाला मालपोत कार्यालयबाट असार ८ गते सम्सी गाउँपालिका–४ का रञ्जितकुमार साहलाई ११ लाख ३५ हजार रुपैयाँमा नामसारी गरिएको छ ।

जग्गा नामसारी गर्दा खरिदकर्ताले विक्रेताको बैंक खातामा पैसा जम्मा गरी बैंक भौचर मालपोत कार्यालयमा बुझाउनुपर्ने हुन्छ । १० लाखभन्दा बढी मूल्यको जग्गा खरिदबिक्रीमा बैंक भौचर अनिवार्य गरिए पनि गौशाला मालपोतमा ११ लाख ३५ हजार रुपैयाँ नगद बुझिएको उल्लेख गरिएको छ । बैंक भौचरबिना नै जग्गा रजिस्टर गराउन कर्मचारीलाई प्रलोभनमा पारिएको पाइयो ।

Sale and purchase of land in Gaushala Malpot in the name of a deceased personजग्गा बिक्री गर्ने व्यक्तिको नागरिकता प्रमाणित नगरी, बैंक खातामा पैसा नजम्हाई, खरिदबिक्रीका प्रक्रिया पूरा गर्दा झुटो विवरण भरेर लेखापढी व्यवसायीले कर्मचारीलाई प्रलोभनमा पारेर मृत व्यक्तिको नामको जग्गा गौशाला मालपोत कार्यालयबाट खरिदबिक्री गरिएको हो।

गौशाला मालपोतका कर्मचारीका अनुसार मृतक महेश चौधरी नाममा रहेको अन्य जग्गा जलेश्वर मालपोत कार्यालयबाट समेत खरिदबिक्री भएको छ । तीन ठाउँका जग्गा बिक्री भएको र लेनदेनमा सहमति नभएपछि गौशाला मालपोत कार्यालयले नामसारी भएको जग्गा पुनः फिर्ता गरेको हो ।

सम्सी गाउँपालिका–१ पर्सा घर भई केही वर्षअघि मृत्यु भएका महेश चौधरीको जग्गा गौशाला र जलेश्वर मालपोतबाट सम्सीकै रञ्जितकुमार साहको नाममा नामसारी गरिएको मालपोतका कर्मचारीले बताए । आर्थिक लेनदेनमा सहमति नहुँदा बिक्री भई नामसारी भइसकेको जग्गाको खरिदबिक्री रद्द गरिएको हो ।

किर्ते कागजात प्रयोग गरेर जग्गा खरिदबिक्री भएको जानकारी आएपछि बिक्री रद्द गरिएको गौशाला मालपोत कार्यालयका सूचना अधिकारी विष्णु कुमार महतले बताए । असार ६ गते, ८ गते र ९ गते गरी तीन पटक मृत व्यक्तिको नामको जग्गा बिक्री भएको र जानकारी आएपछि असार १६ गते बिक्री रद्द गरिएको महतले बताए ।

जग्गा बिक्री गर्ने व्यक्ति फरार भएको र खरिदकर्ताबाट सहयोग लिएर बिक्री भइसकेको जग्गा फेरि मृत व्यक्तिकै नाममा फर्काइएको महतले बताए । मालपोत कार्यालयलाई ढाँटेर जग्गा नामसारी गरिएको विषयमा माथिल्लो निकायमा जानकारी दिइसकिएको र अनुसन्धान भइरहेको पनि सूचना अधिकारी महतले जानकारी दिए ।

महोत्तरीका मालपोत कार्यालयमा आर्थिक लेनदेन गरी सार्वजनिक जग्गा निजी बनाइएको, किर्ते कागजात बनाएर जग्गा नामसारी गरिएको, र घटना सार्वजनिक हुन नदिन मालपोतका कर्मचारीले नै कागजा कार्यालयबाट चोरेर लगेको कर्मचारीहरूले बताएका छन्। कतिपय रजिष्टरका पानाहरु समेत च्यातिएको बताइएको छ ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully