कुलो मासिएपछि आकासे पानीको भरमा किसान, अधिकांश खेत बाँझै 

असार २९, २०८२

ओमप्रकाश ठाकुर

Farmers are full of water after the rain, most of the fields are barren

सर्लाही — सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ का किसान शैलेन्द्र साहको ४ बिघा खेत असार अन्तिम साता भइसक्दा पनि बाँझै छ । सिँचाइका लागि अधबारा खोलाबाट खनिएको कुलो मासिएपछि उनी आकासे पानीको भरमा पर्न थालेका हुन् । यस वर्ष आकासे पानी पनि पर्न नसक्दा उनले रोपाइँ गर्न पाएका छैनन् ।  

चन्द्रनगर गाउँपालिका–६ गोसबरियास्थित अधबारा खोलाबाट निकालिएको कुलो भएको स्थानमा अहिले निजी पोखरी खनिएको छ । सो पोखरी माओवादीका तर्फबाट चन्द्रनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी लखिन्द्र सहनीको हो । त्यसभन्दा दक्षिण भने कुलोको अवशेष मात्र बाँकी छ ।

कुलो हुँदा समयमै रोपाइँ सक्ने किसान यतिबेला आकासे खेतीमा निर्भर हुनुपर्ने बाध्यतामा छन् । भएको कुलो नम्बरी जग्गामा रहेको भन्दै एक दशकअघि मासिएपछि यस क्षेत्रका किसान समस्यामा परेका हुन् । त्यसअघि किसान आफैले श्रम गरेर खोलामा तटबन्ध गरी कुलोमार्फत सिँचाइको व्यवस्थापन मिलाउँदै आएका थिए । कुलो नै मासिएपछि खेती गर्न समस्या परेको छ । 

कुलो हुँदा असारमै धान हरियो फिर्ने गरेकामा पछिल्लो समय खडेरीको सामना गर्नुपरिरहको किसान साहले दुःखेसो पोखे । उनले आकासे पानीको भरमा खेती गर्दा खेत बाँझै बस्दै गएको सुनाए । पम्प सेटमार्फत सिँचाइ गर्दा पानीको तह नआउने र विद्युत्‌को भोल्टेज लगायतको समस्या झेल्नुपरेको उनले गुनासो पोखे । 'यसले त किसानमाथि खर्चको बोझ थपिन्छ । कुलो मासिएर पोखरी बनाएपछि हाम्रो बिजोग भयो,’ उनले भने, ‘आकाशे पानी भएन भने हाम्रो खेत बाँझै बस्छ, यस वर्ष अहिलेसम्म पानी परेको छैन ।'

साहजस्तै कुलो मासिएपछि गोसबरिया, लोद्वा, कामद, ब्रह्मपुरीका सयौं किसानको अवस्था उस्तै छ । उनीहरु सिँचाइका लागि छटपटाइरहेका छन् ।

अर्का किसान सुरेन्द्र महतोले कुलोको दुई मुहान भएको स्थानमा एक मुहान खोलामा मिसिएपछि अर्को मुहान सञ्चालनमा आउन नसक्दा किसान सिँचाइबाट वञ्चित भएको बताए ।

Farmers are full of water after the rain, most of the fields are barren

माओवादी नेता सहनीले दुईमुहान कुलो मात्र होइन पकड्वा दहसहित अन्य सार्वजनिक जग्गा पनि अतिक्रमण गरी पोखरी खनाई व्यवसाय गरिरहेको आरोप लागेको छ । त्यस क्षेत्रका किसानले गाउँपालिकामा नेता सहनीमाथि कारबाहीका लागि निवेदन पनि दिएका छन् । स्थानीय किसान रामबाबु महतोले सार्वजनिक जग्गामा माओवादी नेता सहनीको वक्रदृष्टि लागेको बताए । सहनीले राजनीतिक आडमा सार्वजनिक जग्गा हडपेको उनको आरोप छ । ‘सार्वजनिक जग्गा छेउको जग्गा नेता सहनीले खरिद गर्ने र छेउको जग्गा हडप्ने गरेका छन्, कुलो समेत भएको जग्गा अतिक्रमण गर्दा हामी किसानलाई समस्या परेको छ,’ उनले भने, ‘राजनीतिक आडमा किसान मार्ने काम भएको छ ।’

सहनीले भने कुनै आग्रह पूर्वाग्रह नराखी जग्गा नापजाँच भए आफूले त्यसमा सघाउने बताए । 'नापजाँचमा अतिक्रमण भएको देखिए तत्काल सार्वजनिक जग्गा छाडिदिन्छु,' उनले भने । 

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले सहनीले सार्वजनिक जग्गा अतिक्रमण गरी उपभोग गरेको भन्दै परेको निवेदन कार्यपालिकाले गठन गरेको छानबिन तथा संरक्षण समितिमा पठाइएको जानकारी दिए । छानबिन भएर आएको प्रतिवेदनका आधारमा गाउँपालिकाले कदम चाल्ने उनको भनाइ छ । गाउँपालिकाभर नै सार्वजनिक जग्गा निकाल्नका लागि समिति बनाइएको उनले बताए । ‘सार्वजनिक जग्गा अतिक्रमणको निवेदन परेको छ, त्यति मात्र होइन सार्वजनिक कुलो मासेर पोखरी खनिएको गुनासो पनि किसानबाट आएको छ, कुलोको संरक्षण गर्नुपर्ने स्थानमा मास्नु दुःखद हो,’ उनले भने, ‘छानबिन तथा संरक्षण समितिले सार्वजनिक जग्गा संरक्षणका लागि काम अघि बढाएको छ ।’

ओमप्रकाश

Link copied successfully