सर्लाही — गर्मीले उकुसमुकुस भइरहेका बेला विद्युत् कटौती हुँदा युवाहरुले सर्लाही सदरमुकाम मलंगवास्थित विद्युत् प्राधिकरण कार्यालय घेराउ गरेका छन् ।
अत्यधिक गर्मीमा घन्टौं बत्ती काटिने समस्याबाट आजित युवाहरुले आइतबार वितरण केन्द्र अगाडि नाराबाजी र टायर बालेर प्रदर्शन गरेका हुन् । आन्दोलित युवाहरुले वितरण केन्द्र प्रमुख इन्जिनियर उमेशप्रसाद यादवलाई भेटेर ध्यानाकर्षणसमेत गराएका छन् ।
चर्को गर्मीमा घर बाहिर जाने अवस्था नरहेको तथा घरमा पंखा नचलाए एकैछिन पनि बस्न नसक्ने अवस्थाकाबीच प्राधिकरणले अनेक बहानामा बत्ती काट्न नछाडेको स्थानीयको गुनासो छ । वितरण केन्द्रका प्रमुख इन्जिनियर यादवले भने गर्मीमा अत्यधिक तापक्रम र अधिक भारले गर्दा बेलाबेलामा बत्ती कटौती हुने गरेको दाबी गरे ।
