जनकपुरधाम — मधेश सरकारले ल्याएको बजेटको त्रुटि छानबिन गर्न पुन: कार्यदल गठन भएको छ । शनिबार छैटौं बैठक पनि प्रतिपक्ष दलले अवरुद्ध गरेपछि अर्को कार्यदल बनाइएको हो ।
गत शुक्रबार सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । त्यसमा सत्तापक्षबाट भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यदलमा राखेपछि प्रतिपक्षले अवरुद्ध गर्दै आएको थियो । आज कार्यदलको संयोजक सभामुख मण्डलले राजीनामा दिएपछि उपसभामुख नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाइएको छ ।
कार्यदलमा प्रतिपक्षको ७ र सत्तापक्षको ६ जना प्रदेशसभा सदस्य राख्ने सहमति भएको एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलले जानकारी दिए । उनका अनुसार समितिले प्रतिवेदन बुझाएपछि मात्रै बजेटमाथिको छलफल गर्ने प्रदेशसभा बैठक हुने छन् । आगामी सोमबार प्रदेशसभा बैठक राखिएको छ ।
आज बनाइएको समितिमा उपसभामुख बबिता राउत ईशरको संयोजक, कार्यदलको सदस्यहरुमा मो. समीर, शारदा देवी थापा, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रामअशिष यादव, कनिष पटेल, जवाहरलाल कुशवाहा, विमला अन्सारी तरन्नम, कञ्चन विच्छा, उर्मिला देवी सिंह रहेका छन् ।
