खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने निर्णय भएको उपाध्यक्ष यादवको दाबी
जनकपुरधाम — एमाले मधेश प्रदेश कमिटीको बैठकमा पार्टीबाट मन्त्री बनेकाहरुको आलोचना भएको छ । महोत्तरीको बर्दिबासमा शनिबार बसेको बैठकमा आफ्नै मन्त्रीबाट नेता, कार्यकर्ता असन्तुष्ट रहेको आवाज उठेको मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको असमावेशी रहेको र उक्त बजेटका विषयमा नेता, कार्यकर्ताको असन्तुष्ट थियो ।
धनुषा इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य जुली महतोले पनि एमालेबाट प्रदेशमा मन्त्री बनेकाहरुको आलोचना भएको बताइन् । 'कुराहरू उठेको छ । यो विषयमा केन्द्रीय नेतासँग छलफल गरेर अगाडि बढ्नु पर्छ,' उनले भनिन्,'यतिकै कसैलाई हटाउन मिल्दैनन् । आज कसैलाई फिर्ता बोलाउने वा पठाउने निर्णय भएको छैन ।'
तर, प्रदेश कमिटी उपाध्यक्ष विचारी यादवले एमालेबाटै खेलकुद तथा समाज कल्याणमन्त्री बनेका प्रमोद जयसवाललाई फिर्ता बोलाउने निर्णय भएको बताए । उपाध्यक्ष बिचारी यादवले नै मन्त्री जयसवाललाई फिर्ता बलाउन प्रस्ताव पेस गरेका थिए । यादवको प्रस्तावउपर छलफल गर्दै बैठकले मन्त्रीलाई फिर्ता बलोउने निर्णय गरेको उपाध्यक्ष यादवको दाबी छ ।
बैठकमा प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, मधेश प्रदेश ईन्चार्ज लिलानाथ, सांसद ज्वाला साह, जुली महतो, प्रभु हजरा, आठवटै जिल्लाका ईन्चार्जलगायत कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।
मधेश प्रदेश सरकारमा एमालेका चार मन्त्री छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सरोजकुमार यादव, गृह सञ्चार तथा कानुन मन्त्रालयमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सत्रुधनप्रसाद सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी प्रमोद जयसवालले सम्हालिरहेका छन् ।
