'हरियाली बढाउन' करोडौं निकासा, बिरुवाको हेरचाह न संरक्षण

असार २८, २०८२

विद्यानन्द राम

Billions spent on 'greening', care and protection of plants

राजविराज — हरियाली बढाउने भन्दै वन डिभिजन कार्यालय सप्तरी, राजविराजले ०७८/०७९ मा राजविराज–कुनौली सडकअन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित सडक किनारमा एक सयवटा विरुवा रोप्यो । १० लाख रुपैयाँ खर्च गरेर कर्मचारीमार्फत नै रोपिएका बिरुवा अहिले एउटा पनि छैन । 

सोही वर्ष २५ लाख रुपैयाँ खर्च गरेर हुलाकी राजमार्ग किनारमा पनि वृक्षारोपण गरियो । ‘ट्री–गार्ड’सहित त्यहाँ रोपिएको बिरुवा पनि २ सय ७२ वटा मात्रै छ ।

कार्यालयले बलान बिहुल गाउँपालिका–२ स्थित सेहरा पुलदेखि बलान पुलसम्म प्रदेश वन विकास कार्यक्रमअन्तर्गत कर्मचारीलाई नै बिरुवा रोप्न लगाएको थियो । तर, बिरुवा हुर्कियो/हुर्केन, पानी र मल पुग्यो/पुगेन भनेर हेर्नेतर्फ कर्मचारीले ध्यान नदिँदा बिरुवा मरेका छन् । संरक्षण अभावले ‘ट्री–गार्ड’ पनि हराउँदै गएका छन् ।

वृक्षारोपणका नाममा भएको बजेट बेथितिको यी प्रतिनिधिमूलक मात्रै हो । 

कार्यालयले आर्थिक वर्ष ०७८/०७९ देखि ०८०/०८१ सम्ममा वृक्षारोपणमा एक करोड ५३ लाख ७५ रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष ०७८/०७९ मा ६२ लाख ५० हजार, ०७९/०८० मा ६५ लाख र ०८०/०८१ मा २६ लाख २५ हजार रुपैयाँ वृक्षारोपणमा खर्च भएको हो । तर, रोपेका बिरुवा संरक्षण गरेर हरियाली बढाउनेभन्दा पनि कार्यालयको ध्याउन्न बजेट खर्च गर्नतिर मात्र देखिन्छ  । 

चालु आर्थिक वर्षमा कार्यालयले राजविराज नगरपालिका–१ स्थित हुलाकी राजमार्ग किनारमा पडरिया टोलदेखि खाँडो पुलसम्म र तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराको सडक किनारमा गरी कुल ७ सय ११ वटा बिरुवा रोप्नुपर्ने थियो । बिहीबारसम्ममा हुलाकी राजमार्ग किनारमा जम्मा ७५ वटा बिरुवा रोपिएको छ भने सकरपुराको सडक किनारमा एउटै बिरुवा लगाइएको छैन । तर, कार्यालयले बुधबार (असार २५) राति १२ बजेअघि नै वृक्षारोपणको रकम निकासा दिएको छ ।

Billions spent on 'greening', care and protection of plants

वृक्षारोपणको जिम्मेवारी दिएर वन अधिकृत बैजनाथ मण्डललाई २३ लाख रुपैयाँ निकासा गरिएको कार्यालय स्रोतले बतायो । ‘ट्री–गार्ड’सहित हुलाकी सडक किनारमा ५ सय ११ र सकरपुरमा २ सय बिरुवा रोप्न निकासा दिइएको हो । तर, बिरुवा रोप्नुअघि नै निकासा दिने पुरानै परिपाटीका कारण वृक्षारोपण कार्य प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन् ।

‘असार २५ मा खाता रोक्का हुन्छ भन्ने विषय कसलाई जानकारी छैन, त्यसअघि नै किन गर्दैनन् वृक्षारोपण ? निकासा दिइसकेपछि गरिएका वृक्षारोपण हेर्ने फुर्सद कसलाई छ ?’ स्थानीय बासिन्दा भन्छन्, ‘फेरि लाखौं खर्च गरेर वृक्षारोपण गरिएका ठाउँमा खोज्दा बिरुवा नै भेटिँदैन अनि कसरी बुझ्ने वृक्षारोपण भएको थियो भनेर ?’ 

वन अधिकृत मण्डलले बिरुवा रोप्ने कार्य भइरहेको दाबी गरे । ‘बिरुवा रोप्न लगाइसकेको छु,’ उनले भने, ‘केही दिनभित्रै सकिन्छ ।’ 

Billions spent on 'greening', care and protection of plants

कार्यालयका प्रमुख सुभाषचन्द्र दासले बिरुवा रोप्ने जिम्मेवारी पाएका कर्मचारीलाई ‘स्टिमेट’अनुसार २२/२३ लाख रुपैयाँ पेस्की दिएको स्वीकार गरे । ‘प्राविधिकबाट बिरुवा रोप्नुपर्ने भएकाले कर्मचारीलाई नै काम गर्न पेस्की दिएका छौं, काम सकाएर पेस्की फर्छ्यौट गरिहाल्नुहुन्छ,’ उनले भने, ‘विगतमा वृक्षारोपण गर्दा देखिएका समस्या हामीलाई थाहा छ, त्यसैले यसपालिबाट वडा कार्यालयसँग समन्वय गरेर दुईजना हेरालु राख्छौं ।’ 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully