राजविराज — विदेश पठाइदिने भन्दै डेढ वर्षअघि ठगीमा परेका सप्तरीको बोदे बरसाईन नगरपालिकासहितका पीडित परिवारले शुक्रबार न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
पीडितमध्ये वडा २ बैरयाहीका २४ वर्षीय रवीन्द्रकुमार यादवले ‘एजेन्ट’ विष्णुपुर गाउँपालिका–२ का महादेव साहलाई अपहरण गरेको भन्दै प्रहरीले गाउँमा पुगेर सोधखोज गर्न थालेपछि त्रसित बनेका उनीहरूले न्यायका लागि गुहार्दै राजविराज आएका छन् ।
डेढ वर्षअघि वडा २ कै ७ जनासहित १० जनासँग २५ लाख रुपैयाँ लिएर पनि ७ जनालाई विदेश नपठाएको र भिजिट भिसामा दुबई पठाएका ३ जना तीन महिनापछि जेल बसेर फर्किनुपर्दा सबै ऋणको बोझले थिचिएको पीडित यादवले बताए ।
‘धेरैले मेरै अनुहार हेरेर एजेन्ट साहमाथि विश्वास गरेर पैसा दिएको हो । केहीले ममार्फत नै उनलाई पैसा दिएका छन् । तर आज, भोलि भन्दै डेढ वर्षदेखि झुलाइरहेका छन्,’ उनले भने, ‘प्राय सबैले २ लाख ६० हजारका दरले ऋण उठाएर एजेन्टलाई बुझाए पनि न विदेश पठाउँछन् न पैसा फिर्ता गर्छन् ।’ भेट गर्न आग्रह गर्दै आएपनि धैरै दिनदेखि बहाना बनाउँदै आएका एजेन्ट साहलाई गत मंगलबार राजविराजमा भेट्दा गाउँ पुगेर पीडितलाई सम्झाइदिन भनेपछि आफूसँग गएको र त्यहाँ पुग्दा आक्रोशित रहेका पीडितले दुई/चार थप्पड हानेको यादवले बताए ।
वडा २ नेगडाका जितेन्द्र सदाले एजेन्ट साहले अपहरणको बहाना बनाएर आफूहरूको पैसा पचाउन खोजेको बताए । ‘महाजनलाई ब्याज तिर्न नसक्दा निन्द्रा लाग्दैन, बालबच्चाको छाक टार्न समस्या भइरहेको छ,’ उनले भने, ‘हामीले त आफ्नै पैसा फिर्ता मागेका हौँ, त्यतिमै अपहरणको मुद्दा चलाउने भन्छन्, बाध्य भएर हामी जिल्लामा गुहार्न आयौँ ।’
कृष्णासवरण गाउँपालिका–१ घोंघदाहाकी समतोलियादेवी रामले ऋण उठाएर एजेन्ट साहलाई एक वर्षअघि २ लाख ५० हजार रुपैयाँ दिँदासमेत छोरा (राजिन्द्र)लाई विदेश नपठाइदिँदा ब्याज बढिरहेको भन्दै दुखेसो पोखिन् ।
‘एकल महिलालाई परिवार चलाउनै हम्मे छ, त्यसमाथि ऋणको ब्याज बढिरहेको छ,’ उनले थपिन्, ‘न पासपोर्ट फिर्ता दिन्छन्, न पैसा, अहिले आएर अपहरणको मुद्दा चलाइदिने धम्कीले अझ त्रसित पारेको छ ।’
उनीहरुका अनुसार रवीन्द्र, जितेन्द्र र राजिन्द्रसहित बोदे बरसाईन–२ कै शम्भुप्रसाद यादव, शिवशंकर सदा, सुरेश मण्डल, मो.सुलेमान, कृष्ण मण्डल तथा शम्भुनाथ नगरपालिका–६ लतियाहीका इन्दल सदा र सिरहाको भगवानपुर गाउँपालिका–३ का धर्मदेव यादवलाई एजेन्ट साहले ठगेका छन् ।
उनीहरूले बुझाएको रकममध्ये १८ लाख ४० हजार रुपैयाँ बैंकमार्फत नै दिएका छन् भने बाँकी ६ लाख ६० हजार रुपैयाँ नगद बुझाएको पीडितहरू बताउँछन् । बोदे बरसाईन–२ का वडाध्यक्ष रामप्रसाद रामले जालझेल गरेर ‘एजेन्ट’ साहले स्थानीइलाई फसाउन खोजेको बताए ।
‘त्यो एजेन्टले धेरैलाई उठीबास गराउने अवस्था सृजना गरिसकेका छन्, अहिले आएर अपहरणको मुद्दा चलाइदिने बहानामा पीडितलाई अझ पीडित बनाइरहेको पाएँ,’ उनले भने, ‘यसमा प्रहरीले निष्पक्ष रूपमा अनुसन्धान पर्नुपर्ने जरुरी छ र अन्य सरोकारवालासँग पनि हामी समन्वय गर्दैछौं ।’
जिल्ला प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले एजेन्ट भनिएका साहको परिवारले दिएको उजुरीका आधारमा सोधपुछ गर्न रवीन्द्रलाई फोन गरेको बताए । ‘साहका परिवारबाट आएको मौखिक उजुरीका आधारमा सोधपुछ गर्न फोन मात्रै गरेका हौँ,’ उनले भने, ‘साहमाथि कुटपिट भएको फोटो पनि ती परिवारले दिएका छन्, यद्यपि अहिले मुद्दा दर्ता भइसकेको छैन, अनुसन्धान भइरहेको छ ।’
