मधेश : आकाशे पानीको आसमा किसान, मात्र ३३ प्रतिशत रोपाइँ

असार २७, २०८२

कमलेश ठाकुर

Madhesh: Farmers hoping for sky water, planted only 33 percent

जनकपुरधाम — महोत्तरी पिपरा गाउँपालिका रतौलीका भोला मण्डललाई तीन वर्षअघिसम्म धान रोपाइँ गर्न कुनै समस्या थिएन । खेत छेउमै नहर भएको हुँदा असार मसान्तभित्रै धान रोपाइँ सक्थे । तर, तीन वर्ष यता उनलाई धान रोपाइँ निकै टाउको दुखाइ बनेको छ । कारण, मण्डलको खेत छेउमै रहेको नहरमा अब पानी आउँदैन। विगही खोलाबाट जोडिएको उक्त नहरमा पानी नपुगेपछि यस क्षेत्रका अधिकांश किसान समस्यामा परेका छन्।

डेढ विघा खेतमा धान खेती गर्ने मण्डल आकाशे पानीको आसमा छन् । तर, मधेशमा खेती रोपाइँ गर्न सक्ने जति पानी परेकै छैन। ‘अब त आकाशे पानीकै आस छ। वर्षा नभए खेत बाँझै रहन्छ,’ उनले भने, ‘बिउ तयार छ, पानी नहुँदा बिउ पनि डढ्न थालेको छ।’ वर्षौंदेखि किसानको सिँचाइ, मल र बिउको समस्या भएपनि सरकारले ध्यान नदिएको उनको गुनासो छ।

Madhesh: Farmers hoping for sky water, planted only 33 percent

मण्डलजस्तै लोहारपट्टी नगरपालिका–७, भ्रमरपुराका रामएकवाल ठाकुरको पनि समस्या उस्तै छ। उनले पनि हालसम्म धान रोपाइँ गर्न सकेका छैनन्। चार विघा खेतमा धान खेती गर्ने ठाकुर आकाशे पानीकै आसमा बसेका छन्। धानको बिउ तयार भए पनि रोपाइँ गर्न नसकेको उनको गुनासो छ। मण्डल र ठाकुर धान रोपाइँ गर्न नसकेका प्रतिनिधिमूलक किसान हुन्। मधेशको दुई तिहाइभन्दा बढी जमिनमा रोपाइँ हुन सकेको छैन।

शुक्रबारसम्म मधेश प्रदेशमा ३३ दशमलव ७८ प्रतिशत मात्र रोपाइँ भएको कृषि विकास निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीपकुमार यादवले जानकारी दिए। उनका अनुसार मधेश प्रदेशमा कुल खेतीयोग्य जमिनको ३ लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ। जसमध्ये १ लाख २५ हजार ८८८ दशमलव ६ हेक्टर, अर्थात् ३३ प्रतिशत जमिनमा रोपाइँ भइसकेको छ।

मधेशमा सबैभन्दा कम रोपाइँ सप्तरीमा भएको छ। यहाँ ८१ हजार ६६८ हेक्टर कुल खेतीयोग्य जमिन छ। जसमध्ये ६८ हजार हेक्टरमा धान खेती हुँदै आएको छ। तर, हालसम्म १६ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ। त्यसैगरी सबैभन्दा बढी रोपाइँ पर्सामा भएको छ। यहाँ ३९ हजार ७३१ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ। त्यसमध्ये ७३ दशमलव ३४ प्रतिशत जमिनमा धान रोपाइँ भइसकेको छ।

धनुषामा २५ प्रतिशत, सिरहामा २९, बारामा ४०, रौतहटमा ४५, सर्लाहीमा ४० र महोत्तरीमा १८ प्रतिशत जमिनमा धान रोपाइँ भइसकेको छ। मधेशमा कुल ५ लाख ४२ हजार ५८० दशमलव ७८ हेक्टर खेतीयोग्य जमिन छ। जसमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान खेती हुँदै आएको छ। तर, २५ प्रतिशत जमिनमा पनि सिँचाइ नभएको अधिकृत यादवले बताए। ‘प्रमुख चुनौती नै सिँचाइ हो। सिँचाइ नभएसम्म किसानले रोपाइँ गर्न सक्दैनन्,’ उनले भने, ‘बिउ र मल त जेनतेन पाइहाल्छ, सिँचाइ मुख्य समस्या हो।’

धान बाली अनुसन्धान केन्द्रबाट अवकाशप्राप्त डा. रामवरण यादवले मुख्य समस्या सिँचाइ नै रहेको बताए। सरकारले ७० प्रतिशत जमिनमा सिँचाइ भएको दाबी गरे पनि वास्तविकतामा ३० प्रतिशत जमिनमा मात्रै सिँचाइ रहेको उनले दाबी गरे। ‘यहाँको किसान सधैँ आकाशे पानीकै भरमा छ। यसपालि अहिलेसम्म पानी परेन,’ उनले भने, ‘त्यही भएर रोपाइँ हुन सकेको छैन।’

मधेश प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरिसकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्दै संघीय सरकारसँग सहयोगका लागि अनुरोधसमेत गरेको छ। सरकारले राहत दिने मनसाय बनाइसकेको भए पनि स्रोत निर्धारण भइसकेको छैन।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully