वीरगन्ज नाकाबाट भित्रिन थाल्यो ‘जीटूजी’ को युरिया मल

असार २५, २०८२

शंकर आचार्य

Urea fertilizer of 'G2G' started entering through Birgunj crossing

पर्सा — लामो समयदेखि प्रतीक्षा गरिएको कृषि सामग्री कम्पनीको ‘जीटूजी’ को युरिया मल नेपाल भित्रिन थालेको छ । नेपाल सरकारले टेन्डर प्रक्रियाबाट नभई भारत सरकारसँग सोझै यो मल खरिद गरेको हो ।

कोलकाता बन्दरगाहबाट २ हजार ५ सय टन मल बोकेर आएको यो कन्साइन्मेन्टको पहिलो र्‍याक मंगलबार वीरगन्जको छिमेकी भारतीय सहर रक्सौलको रेल्वे स्टेसनमा आई पुगेको थियो । 

बुधबारदेखि ट्रकबाट ढुवानी गरी कम्पनीको वीरगन्जस्थित प्रादेशिक कार्यालयको गोदाममा भित्र्याउने क्रम समेत सुरु भइसकेको कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले जानकारी दिए । ‘बुधबार दिउँसो ३ बजेसम्ममा कम्तीमा २५ ट्रक युरिया मल हाम्रो गोदाममा भण्डारण भई सकेको छ,’ उनले भने, ‘रक्सौल र वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा १/२ दिनको अन्तरमा मल निरन्तर भित्रिने सम्भावना छ ।’ 

भारत सरकारले अन्तर्राष्ट्रिय मल आपूर्तिकर्ता कम्पनी आदित्य बिडलालाई यो कन्साइन्मेन्टको मल आपूर्तिको ठेक्का दिएको थियो । उसले तेस्रो मुलुकबाट यो मल ल्याएको हो । नेपाल सरकारले हाल वर्षे धान बाली सिजनलाई लक्षित गरी यो मल ल्याउँदै गरेको हो । 

‘जीटूजी’ को ३० हजार टन युरियामध्ये मधेश प्रादेशिक कार्यालयले ११ हजार ५ सय टन, भैरहवा प्रादेशिक कार्यालयले १० हजार टन र विराटनगर प्रादेशिक कार्यालयले ८ हजार ५ सय टन पाउने छन् । 

रोपाइँको मुख्य सिजनमै मल भित्रिन थालेकाले यस वर्ष कार्यालयलाई मलको आन्तरिक व्यवस्थापनमा समस्या नहुने पाण्डेको दाबी छ । साउनको पहिलो सातादेखि आदित्य बिडला कम्पनी आयातकर्ता रहेको अर्को कन्साइन्मेन्ट अन्तर्गत डीएपी मल पनि भित्रिने सम्भावना रहेकाले किसालाई यस वर्ष डीएपी मल पनि समयमै दिन पाइने उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully