व्यापारीलाई धम्काएर पैसा उठाउने प्रहरीको जिम्मेवारी खोसियो

असार २५, २०८२

सन्तोष सिंह

The responsibility of the police to collect money by threatening the businessmen was taken away

महोत्तरी — मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले ईलाका प्रहरी कार्यालय गौशाला महोतरीका प्रमुख प्रहरी निरीक्षकसहित तीन प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालेको छ ।

विभिन्न आरोप लागेपछि ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीसहित तीन जनालाई अनुसनधानका लागि मधेश प्रदेश प्रहरी कार्यालयले बोलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले बताए ।

व्यापारिबाट जबरजस्ती मासिक रुपमा रकम मागेको, चेक अनादर मुद्दामा आरोपितबाट आर्थिक लाभ लिएको, ईलाका प्रहरी कार्यालय गौशाला परिसरमा दिनहुँ छलफलबाट विचौलिया परिचालन गरी आर्थिक संकलन गर्दै आएको आरोप लागेपछि जिम्मेवारीबाट हटाएर थप अनुसन्धानका लागि तीनै जनालाई नेपाल प्रहरीको जनकपुरस्थित गणमा राखेको छ ।

प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई घुमुवाको रुपमा परिचालन गरी अनैतिक काम गराएको प्रहरी अनुसन्धानमा देखिएको छ । 

प्रहरी जवान महतो र विश्वकर्मा लामो समयदेखि ईलाका प्रहरी कार्यालय गौशालामा कार्यरत थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत सादा पोसाकका (घुमुवा) प्रहरीले संरक्षण गरेका थिए । जिल्ला प्रहरी कार्यालयमा ५ वर्ष भन्दा बढी समयदेखि कार्यरत सादा पोसाकमा काम गर्ने प्रहरीको सरुवा भए पनि अन्यत्र जान मानेको छैनन् ।

लामो समय एउटै जिल्लामा बस्ने प्रहरीले अनुसन्धान र सूचना संकलन गर्न सादा पोसाक(घुमुवा)मा बसेर पदको दुरुपयोग गरी आर्थिक लाभ लिने गरेको छ ।

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully