काठमाडौँ — पूर्वाधार विकास कार्यालय महोत्तरीले रातिको समयमा आर्थिक लेनदेन गरी योजनाको भुक्तानी गरेको आरोप लागेको छ ।
कार्यालय अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सर्वसाधारणलाई कार्यालय प्रवेशमा रोक लगाएर सोमबार अबेर रातिसम्म योजनाको भुक्तानी गर्ने कार्यालय मंगलबार बिहान सुनसान छ ।
रातिको समयमा कारोबार गर्न सहज हुँदा प्रहरी लगाएर भुक्तानी भएको निर्माण व्यवसायी बताउँछन् । कार्यालयभित्रै रहेको कर्मचारी निवासमा मदिरासहितको भोजको दृश्य कैद गर्ने पत्रकारलाई कर्मचारी र निर्माण व्यवसायीले दुर्व्यवहार गर्नुको साथै सञ्चार सामग्री नियन्त्रणमा लिएर पूर्वाधार विकास कार्यालयमा अवरोध भएको छ ।
आर्थिक वर्षको अन्तिम समयमा भुक्तानिका लागि राति पनि भिडभाड भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश कर्णले बताए । 'कार्यालयमा के भयो भएन मलाई थाहा भएन,' प्रमुख कर्णले भने, ‘नेपाल सरकारले दिनभर रातभर काम गर्न भनेको छ । यहाँ २४ घण्टा सेवा गर्ने व्यवस्था छ । हामी पहिला पनि रातिराति काम गर्थ्यौं ।'
पूर्वाधार कार्यालयका प्राविधिकले योजनामा भ्याटबाहेक रकममा ६ प्रतिशत कमिसन अग्रिम लिएर भुक्तानी गरिरहेको कार्यालय आएका निर्माण व्यवसायीहरुले बताए । कमिसनको रकम कार्यालयबाहिरै बुझाएपछि कार्यालयबाट भुक्तानी प्रक्रिया अगाडि बढाउने गरिएको छ ।
आर्थिक वर्षको अन्तिम समयमा विकाय योजनाको कार्यादेश दिएर हतारहतार काम गरी अन्मित समयमा भुक्तानीका लागि प्रहरी परिचालन गरी कार्यालयमा काम भइरहेको हो । स्थानीय तहका कर्मचारीले कार्यालय बाहिर निवास र होटलबाट भुक्तानी गरिरहेका छन् ।
