रौतहट — रौतहटको परोहा नगरपालिका–७ नरकटियामा मंगलबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
नरकटियाबाट बन्कुल जाने क्रममा नरकटियाका रामेश्वर दुसाधको २० वर्षीय छोरा करण पासवानको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ । घरबाट बा ५२ प ७५०९ नम्बरको मोटरसाइकल लिएर बन्कुल जानेक्रममा अनियन्त्रित भई सडकबाट तल खसेर रुखमा ठोक्किएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक पासवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पासवानको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार महतोले बताए ।
