पर्सा — ठोरी गाउँपालिका–३ सिकारीबासका ६१ वर्षीय भरत महतो शनिबार निकै खुसी देखिए । जीवनकालमै पक्की घरमा बस्ने रहर पूरा हुने भएपछि उनी दंग छन् ।
फुसको छाप्रोमा अहिलेसम्म बिताएका उनले जनता आवास कार्यक्रमअन्तर्गत निःशुल्क पक्की घर पाउनेछन् । ‘मैले आफ्नो जीवनमा पक्की घरमा बस्न पाउँला भनी सपनामा पनि चिएको थिइनँ,’ उनले भने, ‘सरकारले घर बनाइदिने भयो, अब मेरा बालबच्चाले पक्की घरमा बस्न पाउने भए ।’ उनी मात्र नभई गाउँका रामचन्द्र महतो, पार्वती देवीसहित ५ जनाको यो कार्यक्रमअन्तर्गत पक्की घर पाउने भएका हुन् ।
शनिबार नै गाउँकी सोना देवीले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको हातबाट नागरिकता पाइन् । नागरिकता लिन सदरमुकाम वीरगन्ज धाउनुपर्ने झन्झटबिनै गाउँमै नागरिकता हात परेपछि उनले सुरुमा पत्याएकी थिइनन् । ‘यति सजिलै गाउँमै नागरिकता पाइएला भनेर मैले आशा गरेकी थिइनँ,’ उनले भनिन् ‘यसरी गाउँमै नागरिकता पाएपछि हामी पनि देशको नागरिक भएको अनुभूति भयो ।’
उनीजस्ता आठ जनाले त्यहाँ नागरिकता पाए भने एक जनाले राष्ट्रिय परिचयपत्र लिए । जिल्ला प्रशासन कार्यालय पर्साले सिकारीबासबासीलाई राहत दिन शनिबार दीनभर गाउँमै एकीकृत घुम्ती सेवा सञ्चालन गरेको थियो ।
पर्साकै सबैभन्दा दुर्गम यो गाउँवासीले सबैखाले आधारभूत सेवा गाउँमै पाउन् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको आयोजना तथा ठोरी गाउँपालिकाको समन्वयमा उक्त सेवा सञ्चालन गरिएको थियो । घुम्ती सेवामा नारायणी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर, उद्योग विभाग प्रादेशिक कार्यालय वीरगन्जले सीपमुलक तालिम, कृषि ज्ञान केन्द्र पर्साले कृषि प्रसार र प्रविधि सिविर, रुंगटा वेलफेयर सोसाइटीले स्थानीय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला र स्टेसनरी वितरण गरेको थियो । हस्क पावर नेपालले १५ घरधुरीलाई सुधारिएको चुलो वितरण गर्यो ।
नेपाल टेलिकम प्रादेशिक कार्यालय वीरगन्जले पर्याप्त नेटवर्कसहितको वाइफाई र जिल्ला स्वास्थ्य कार्यालयले औषधिको प्रबन्ध मिलाएको थियो । नारायणी सिँचाइ कार्यालय तथा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सिँचाइका तथा लागि सिकारीबास खोलामा तटबन्ध निर्माणको लागि तारजाली र बोराको व्यवस्था गरेर शनिबारबाटै काम सुरु गरिसकेको छ । पूर्वाधार विकास कार्यालय वीरगन्जले जनता आवास कार्यक्रमअन्तर्गत निर्माणको कार्य सुरु गरेको छ ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती सेवाले सिकारीबासवासीको दुःख र पीडामा मल्हम लगाउन ठूलो भूमिका खेलेको बताए । प्रमुख जिल्ला अधिकारी अर्यालले सेवाले सिकारीबासवासीले आफूहरु पनि राज्यकै नागरिक रहेको अनुभूति गर्न पाएको भनाइ राखे ।
उनले दुर्गम क्षेत्रका बासिन्दालाई यसरी दैलोमै सेवा दिन भविष्यमा पनि यस्ता सेवा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
सिकारीबास पर्सा र चितवन राष्ट्रिय निकुन्जको मध्यविन्दुमा रहेको जिल्लाकै सबैभन्दा दुर्गम गाउँ हो । हुलाकी सडकबाट ७ किमी पूर्व जंगलको बाटो छिचोलेर यहाँ पुगिन्छ । कच्ची सडक वर्षायाममा आवागमन योग्य हुँदैन । गाउँमा ६८ घरधुरी छ । यहाँ ५ कक्षासम्म मात्र अध्ययन अध्यापन हुने विद्यालय छ । निमावि र मावि तहको अध्ययन गर्न स्थानीय बालिबालिकाले सधैं २० किलामिटर यात्रा गर्नुपर्छ । स्वास्थ्य चौकीमा औषधिको अभाव हुन्छ । जंगली जनावरको आक्रमणले बर्सेनि सबै बालीनाली नष्ट गर्छन् । वन्यजन्तुले स्थानीयलाई पनि आक्रमण गर्छन् । बिरामी पर्दा सिटामोलसमेत अभाव हुने यो गाउँ हालसम्म खानेपानी, सडक आदि आधारभूत सेवाबाट वञ्चित छ ।
