जनकपुरधाम — मधेश सरकारको (मधेश भवन) अगाडि सहिद परिवारका सदस्यहरुले धर्ना दिएका छन् । आइतबार मधेश भवनको दुई नम्बर गेटमा उनीहरुले धर्ना दिएका हुन् । धर्नामा बसेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाका डीएसपी वरुणबहादुर सिंहले बाटो अवरुद्ध गरेको कारण ६ जनालाई पक्राउ गरेको जानकारी दिए ।
सहिद परिवारहरुले सरकारले आगामी आर्थिक वर्षको बजेटमा सहिद परिवारका लागि राख्ने कार्यक्रम र बजेट कटौती गरेको भन्दै प्रदर्शन गरेका हुन् । सहिद प्रतिष्ठानमा रित्त पदमा सदस्य नियुक्त गर्नु पर्ने, हरेक सहिद परिवारलाई रोजगारी दिनुपर्ने र सबैको स्वास्थ्य बिमा हुनुपर्ने माग राखेर सहिद परिवार पटकपटक धर्ना दिँदै आएका छन् ।
विगतको सरकारले एक सहिद परिवार एक रोजगार कार्यक्रममार्फत रोजगारी दिए पनि वर्तमान सरकारले हटाउने प्रकृया अगाडि बढाइरहेको सहिद परिवारको गुनासो छ । अधिकांश सदस्यलाई मासिक तलबीबाट हटाएर दैनिक ज्यालादारीमा राखेको उनीहरुको कथन छ ।
