पर्सा — पर्साको ठोरी गाउँपालिका साक्षर घोषणा भएको छ । ठोरी–३ सिकारीबासमा शनिबार आयोजित समारोहमा औपचारिक रुपले ठोरीलाई साक्षर घोषणा गरिएको हो ।
यसरी ठोरी पर्सा जिल्लाकै पहिलो र मधेश प्रदेशको सातौं साक्षर पालिका बन्न पुगेको हो । ठोरी गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठले औपचारिक रुपमा आफ्नो पालिकालाई साक्षर पालिका घोषणा गरेका थिए । ठोरीले पर्सा जिल्लामै इतिहास निर्माण गर्न सफल भएकामा आफूहरु गौरवान्वित भएको उनले बताए । समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारले ठोरी गाउँपालिकाको यो सफलताले जिल्लावासीको मान बढाएको बताए । उनले शिक्षा क्षेत्रमा ठोरीले पाएको सफलता उदाहरणीय रहेको बताए ।
ठोरी गाउँपालिका शिक्षा महाशाखा प्रमुख भूपालकुमार जोशीले पालिकाको ३ हजार ८ सय ९ घुरधुरीमा सर्वेक्षण गर्दा १५ हजार ९ सय ७८ जनामध्ये ९८ दशमलव ८६ प्रतिशत जनसंख्या साक्षर पाइएको बताए । उनले साक्षर घोषणा हुन निर्धारण गरिएको १२ सूचकांकमध्ये ८ सूचकांक पुरा भएकाले पनि ठोरी साक्षर पालिका घोषणा हुन सक्षम रहेको बताए ।
गाउँपालिकाका लागि साक्षर बनाउन आसमान नेपाल नामक संस्थाले ४ वर्षदेखि पालिकामा विशेष अभियान नै सञ्चालन गरेको थियो । संस्थाका प्रतिनिधि धर्मेन्द्र चौरसिया समेतलाई उक्त अवसरमा सम्मानित गरिएको थियो ।
