मधेसको बजेटमाथि छलफल आइतबारदेखि

असार २१, २०८२

कमलेश ठाकुर

Discussion on Madhes budget from Sunday

जनकपुरधाम — मधेस सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि आइतबारदेखि छलफल हुने भएको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमाथि छलफल गर्न आइतबार मधेस प्रदेशसभाको बैठक आह्वान गरिएको हो । आइतबार दिउँसो १ बजेका लागि मधेस प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते बजेट प्रस्तुत गरेपछि असार ११ गते बसेको बैठक आधा घण्टा समेत नचलि अनिस्चितकालका लागि स्थगित भएको थियो । सरकारको आग्रहमा सभामुख रामचन्द्र मण्डलले बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि विपक्षी दलका सांसदहरुले आपत्ति जनाएका थिए ।

प्रतिपक्षी दलले बजेटमा सरकारले मनपरी गरेको आरोप लगाउँदै विरोध गर्ने तयारी गरेका थिए । असार १२ गते बोलाइएको बैठक १ घण्टा अगावै बस्नुअघि अनिश्चितकालका लागि स्थगित गरेपछि विपक्षी दलहरुले त्यसपछि बस्ने प्रदेशसभाको बैठक बहिष्कार गर्ने तयारी गरेका थिए ।

प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका दलले आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएका थिए । 

उनीहरुले सभामुखले विपक्षीलाई जानकारी नै नगराई बैठक स्थगित गरेको भन्दै आपत्ति समेत जनाएका थिए । मधेस सरकारले आगामी आवका लागि ल्याएको बजेटको विपक्षी दलमात्र नभई सत्तारुढ दलकै सांसदहरुले समेत विरोध जनाइरहेका छन् । उनीहरुले बजेटमा विचौलिया हावी भएको भन्दै विरोध जनाइरहेका छन् ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully