सडक विस्तारको विरोधमा वीरगन्ज बजार बन्द

असार २०, २०८२

शंकर आचार्य

Veergunj market closed in protest against road expansion

पर्सा — सडक विस्तारको विरोधमा वीरगन्ज बजार बन्द गरिएको छ ।

वीरगन्ज महानगरपालिकाले सुरु गरेको सडक विस्तारसहित संरचना हटाउने कार्यको विरोधस्वरूप स्थानीयले बजार बन्द गर्दै शुक्रबार बिहान घण्टाघर चोकमा टायरसमेत बालेका थिए ।

वीरगन्ज बचाउ सङ्घर्ष समिति र वीरगञ्ज युवा तथा व्यापारी सडकपीडित सङ्घर्ष समितिको आह्वानमा शुक्रबार बिहान ११ बजेसम्म बजार गरिएको हो । मुख्य सडकका घरमा कालो झन्डा राखेर सांकेतिक विरोध गरिएको छ ।

मङ्गलबार घरधनीहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै महानगरले क्षेत्राधिकार बाहिर गएर जबरजस्ती घर–टहरा भत्काएको दाबी गर्दै संरचना भत्काउने काम तत्काल रोक्न माग गरेका थिए ।

वीरगन्ज महानगरपालिकाले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै सोमबारदेखि भन्सार क्षेत्रबाट सडक विस्तारको काम सुरु गरेको  छ । सोमबार र मङ्गलबार डोजर प्रयोग गरी राजमार्गको पश्चिमतर्फ रहेका घर तथा अन्य भौतिक संरचना हटाइएको थियो । 

त्रिभुवन राजपथको मितेरी पुलदेखि गण्डकसम्मको मुख्य सडक विस्तार भइरहेको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully