बर्दिबासको मसाज सेन्टरबाट दुई जना पक्राउ

असार १७, २०८२

सन्तोष सिंह

Two people arrested from massage center in Bardibas

महोत्तरी — बर्दिबासको मसाज सेन्टरभित्र मध्यरातमा भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक विकास बमको नेतृत्वमा खटिएको प्रहरी टोलीले मध्यराति बर्दिवास नगरपालिका–१ स्थित बजारमा हेम लामाले सञ्चालन गर्दै आएको रोयल मसाज सेन्टरमा जाँच गर्दा प्रहरीसँग दुर्व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले सेवाग्राही भारत जिल्ला सितामढी बिहार बस्ने १९ वर्षीय अतुलकुमार साह र तत्काल मसाज सेन्टर सञ्चालनको जिम्मेवारीमा रहेकी धादिङ रुवीभेली गाउँपालिका– ५ की ३१ वर्षीया मिना राना मगरलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक बमले बताए । दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको बमले बताए ।

भारतीय नागरिकहरुले लागूऔषधको कारोबार गर्न बर्दिबासका होटल, मसाज सेन्टरलाई प्रयोग गरेको र होटलहरुमा अश्लिल गतिविधि बढेपछि निगरानी बढाएको प्रहरीले बताएको छ ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully