सविनालाई झस्काइरहने यो खण्डहर घर

बलात्कार घटनामा छोरालाई जन्मकैद, बाबुआमा मतियार

असार १७, २०८२

सुनिता बराल

This dilapidated house haunts Savina

महोत्तरी — खण्डहर बनिरहेको तीनतले ठूलो पक्की घरको भित्तामा लेखिएका शब्दले जोकोहीलाई झस्काउँछ । बर्दिबास नगरपालिका–१४ स्थित शुभम बस्तीमा सुनसान र आगोले जलिनसकेको भित्तामा टाढैबाट देखिने गरी लेखिएको छ- ‘यो घर जग्गा अपराधीको हो । किनबेच गर्न पाइनेछैन ।’

यो घरको कथा बुझ्न ५ वर्षअघि फर्कनुपर्ने हुन्छ । बर्दिबास–१४ स्थित शुभम बस्तीमा रहेको उक्त घरमा भएको घटनाका पीडित अहिले पनि न्यायकै पर्खाइमा छन् ।

२०७७ मंसिर ७ गते साँझपख सोही घरमा रहेको पसलमा चकलेट किन्न पुगेकी छिमेककी ६ वर्षीया बालिका गुलाबसा खातुन घर फर्किनन् । बेपत्ता गुलाबसाको खोजी गर्ने क्रममा मंसिर ९ गते राति सोही घरको पछाडिपट्टि बाँसघाँरीमा बलात्कार गरी हत्या गरिएको अवस्थामा बोरामा शव फेला पर्‍यो । त्यसबखत बालिकाको शव सडकमा राखेर न्यायका लागि भन्दै बर्दिवासमा चर्किएको आन्दोलनले थप एक जनाको ज्यान लियो । सोही घटनाका क्रममा प्रहरीको गोली लागेर बर्दिवास–१ का सञ्जय न्यौपानेको मृत्यु भयो ।

पक्राउ परेका घटनाका अभियुक्त २७ वर्षका अरुण साहलाई महोत्तरी जिल्ला अदालतले दोषी ठहर गर्दै २०७९ माघ २४ गते जन्मकैदको सजाय सुनायो । साहलाई जबरजस्ती करणी, शरीर बन्धक, अपहरण र हत्या गरी ४ वटा मुद्दामा अदालतले दोषी ठहर गरेको छ । 

अरुण सजाय भुक्तान गरिरहेका भए पनि घटनासँगै फरार भएका उनका बुबा ६० का राजकिशोर साह र आमा ५१ वर्षकी सुशीलादेवी साहलाई भने प्रहरीले ५ वर्षपछि पक्राउ गरी आइतबार सार्वजनिक गर्‍यो । घटना भएको उक्त घर साह परिवारकै हो । गौशाला नगरपालिका-५ मा पनि उनीहरूको अर्को घर छ ।  

This dilapidated house haunts Savina

घटनापछि भारतमा बस्दै आएका दुवै जनालाई जलेश्वर–१२ स्थित नैन्हीबाट गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबाससहितको टोलीले नियन्त्रणमा लिएको महोत्तरी प्रहरी प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए । घटनाबारे थप अनुसन्धान गरी कारबाही अघि बढाउने उनले बताए ।

राजकिशोर र सुशीलादेवीले छोरालाई शव व्यवस्थापन गर्न सुझाएको पाइएकाले उनीहरु घटनाको मतियार रहेको प्रहरीको भनाइ छ ।

छोरीको बिभत्स हत्या भएको घरले समेत आफूहरुलाई सधैं अशान्ति दिइरहेको गुलाबसाकी आमा सविना खातुन बताउँछिन् । उक्त घर भएको ठाउँमा शान्ति पार्क बनाएर पक्राउ परेका मानिसलाई सजाए दिए मात्र छोरीलाई शान्ति मिल्ने उनको विश्वास छ । ‘रोएर मेरा त आँखा रित्तिइसके । यस्तो घटना कसैलाई नहोस् भन्नका लागि दोषीहरुले सजाय पाउनुपर्छ,’ उनले भनिन् ।This dilapidated house haunts Savina

उक्त घटना त्यही घरमा भएको पुष्टि भएसँगै समुदायले गुलाबसाको शव फेला परेकै दिन साहको घरमा आगजनी गरेका थिए । ‘घटना कहालीलाग्दो थियो, फेरि त्यस्तै होला कि भनेर मानिसहरु अझै डराइरहेका छन्,’ स्थानीय बबिता साह बताउँछिन् ।

उक्त क्षेत्रमा घटना भएको ५ वर्षयता नयाँ घर बनाउने र जग्गा किनबेच नै ठप्प भएको गुलाबसाकी फुपू आर्फा खातुनले बताइन् ।

This dilapidated house haunts Savina

प्रहरीले गुलाबसा घटनाका फरार व्यक्ति पक्राउ गरे पनि सञ्जय मृत्यु प्रकरणमा भने सरकारले कुनै न्यायको कदमअघि बढाएको छैन । घटनाको ५ वर्ष बित्दा समेत खातुन र न्यौपानेको परिवार न्याय र क्षतिपूर्तिकै पर्खाइमा छ । प्रहरी नियन्त्रणमा पुगेका दोषी कतै उम्किने आशंकामा गुलाबसामा बुबा साहिद आलम र उनको परिवार अहिले पनि प्रहरी प्रशासनमै धाइरहेको छ ।

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully