ग्लोबल टेन्डरको मल समयमा नभित्रिए धान बालीलाई मल अभाव हुन सक्ने 

असार १७, २०८२

शंकर आचार्य

Fertilizers that are not received in time for the global tender may lead to fertilizer shortages for rice crops

पर्सा — कृषि सामग्री कम्पनीको ग्लोबल टेन्डरबाट आयात गर्ने भनिएको युरिया मल रोपाइँको समयमा नभित्रिए वर्षे धान बाली सिजनमा मलको अभाव हुने सम्भावना छ ।

भारतको आइपीएल कम्पनीले कम्पनीको ३० हजार टन मल आपूर्तिको ठेक्का पाएकोमा उसको मल भित्रिने सम्भावना अझै देखिएको छैन । कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले आइपीएलको उक्त कन्साइन्मेन्टको मल कहिलेसम्म नेपाल भित्रीसक्छ भनी अझै यकिन साथ भन्न नसकिने बताए । 

नेपाल सरकारले भारत सरकारसँग जि–टु–जी प्रक्रियाबाट सोझै खरिद गर्न लागेको मल भने यसै साताको अन्त्यतिर भित्रिन थाल्ने सम्भावना रहेको उनले बताए । भारत सरकारबाट ३० हजार टन युरिया मल आपूर्तिको ठेक्का पाएको आदित्य बिरला कम्पनीले उक्त मल तेस्रो मुलुकबाट खरिद गरी गत साता नै कोलकाता बन्दरगाहमा ल्याइसकेको र हाल त्यहाँ बोरामा मल प्याकिङको काम भइरहको उनले बताए । 

कार्यालय र मधेश प्रदेशका मातहतका कार्यालयहरूमा गरी हाल युरिया मल १२ हजार २ सय ९२ टन मौज्दात रहेको उनले बताए । उक्त मल हाल वितरण नगरिएको र आउँदो सातादेखि जिल्लाका सहकारीहरूलाई वितरण गरिने उनले बताए । यस अवधिमा ‘जि–टु–जी’ को ३० हजार टन मल भित्रिन थाल्ने सम्भावना रहेको छ । त्यसलगत्तै पाइपलाइनमा रहेको आइपीएलको ३० हजार टन युरिया भित्रिएको खण्डमा वर्षे धान बाली सिजनमा युरिया मलको अभाव नहुने उनले बताए । तर आइपीएलले मल आपूर्ति गर्न ढिलाइ गरे भने समस्या हुन सक्ने उनले बताए । 

‘जि–टु–जी’ को ३० हजार टन युरियामध्ये कम्पनी मधेश प्रादेशिक कार्यालयले ११ हजार ५ सय टन, भैरहवा प्रादेशिक कार्यालयले १० हजार टन र विराटनगर प्रादेशिक कार्यालयले ८ हजार ५ सय टन मल पाउने छन् । 

मधेश प्रदेशभरिमा गरी हाल १२ हजार २ सय ६५ टन डिएपी र २ हजार ५ सय ८७ टन पोटास मल पनि मौज्दात रहेको उनले बताए । तर यी मल हाल किसानलाई आवश्यक छैन । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully