रोपाइँ लक्षित गर्दै गण्डक नहरमा निर्धारित मितिमै पठाइयो पानी

असार १५, २०८२

शंकर आचार्य

Water was sent to the Gandak canal on the scheduled date targeting planting

पर्सा — भारतीय पक्षले यस वर्ष निर्धारित मितिमै धान बाली सिजनका लागि गण्डक नहरमा पानी दिएको छ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकृत एवम् इन्जिनियर सुरेश साहका अनुसार, नहरमा शुक्रबारदेखि नै भारतीय पक्षले पानी दिएको छ । भारतीय पक्षलाई यस वर्ष राष्ट्रिय धान दिवसकै दिन किसानको रोपाइँ गर्ने निर्धारित कार्यक्रमलाई लक्षित गरी पानी दिन पत्राचार गरिएकोमा शुक्रबारदेखि नै पानी आएको उनले बताए । 

'यस वर्ष धान दिवसकै दिन किसानले रोपाइँ गर्न पाउन भन्ने हाम्रो प्रयास थियो,' साहले भने, 'कार्यालयबाट औपचारिक रूपले भारतीय पक्षलाई पत्राचार गरिएको थियो ।' कार्यालय प्रमुख मनोज पटेलले पनि भारतीय पक्षका प्रमुखसँग नियमित सम्पर्क स्थापित गर्न सम्झौता मितिमै पानी आउनुपर्ने माग राखेकाले भारतीय पक्षले नहरमा यस वर्ष समयमै पानी दिएको साहले बताए । 

गण्डक नहर नेपालमा प्रवेश गर्ने शून्य आरडी अर्थात् पर्साको जानकीटोलास्थित नेपाल भारत सीमाबाट शुक्रबारदेखि नै नेपाली भूमिस्थित गण्डक नहरमा पानी प्रवेश गरी सकेको थियो । नहर पानी आएपछि बिउ तयार भएका पर्साका केही किसानले रोपाइँसमेत गरिसकेको साहले बताए । 

आइतबारदेखि बारा जिल्लामा पनि नहरमा पानी पुगेको छ । तर बाराका अधिकांश किसानको धानको बेर्ना अझै तयार नभइसकेकाले एक सातापछि अधिकांश किसानले रोपाइँ गर्ने साहले बताए । हाल नहरमा ५ सय ५० क्युसेक पानी प्रवाह भइरहेको छ । सिजनको सुरुवातमै भारतीय पक्षले यती धेरै परिमाणमा पानी दिँदा नहर प्रणाली सञ्चालनमा सहजता हुने उनले बताए । किसानले बिस्तारै रोपाइँको क्रम बढाएपछि त्यसै अनुरूप पानीको आवश्यकता पनि बढ्दै जाने र भारतीय पक्षले पानीको परिमाण पनि बढाउँदै लग्ने उनले बताए । 

भारतसँगको गण्डक सम्झौता अनुसार, बर्सेनि धान बालीका लागि असार १५ र गहुँ बालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिनुपर्छ । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमि यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ ८१ किमी रहेको छ ।  

गण्डक ब्यारेजको निर्माण भारतले आफैं गरेको र सञ्चालन पनि भारतीय पक्ष आफैंले गर्छ । उसले ब्यारेजबाट नेपालभन्दा भारतीय भूमिमा बढी पानी लग्ने गरी नहरको संरचना निर्माण गरेको छ । 

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य भएपनि बर्सेनि कुनै न कुनै समस्या देखाउँदै भारतले नेपाललाई सम्झौता अनुरूपको ८ सय ५० क्युसेक पानी दिने गरेको छैन ।   

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully