११ लाख रुपैयाँभन्दा बढीका तस्करीका सामान बरामद

असार १५, २०८२

शंकर आचार्य

Recovered smuggled goods worth more than 11 lakh rupees

पर्सा — सशस्त्र प्रहरी बल पर्साले ११ लाख रुपैयाँभन्दा बढीका तस्करीका सामान बरामद गरेको छ 

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले वीरगन्ज मनपा– १६ ईनर्वास्थित सीमा नाकाबाट बोरामा प्याक गरी अवैधरूपमा नेपालबाट भारततर्फ निकासी गरी लाँदै गरेको अवस्थामा ५ लाख ८ हजार रुपैयाँ बराबरको तामाको माने र उक्त कार्यमा प्रयोग भएको ईलोडरसहित शनिबार नियन्त्रणमा लिइ आइतबार आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

शनिबार नै सोही गुल्मबाट खटिएको अर्को टोलीले विमनपा–१६ स्थित भन्सार क्षेत्रबाट रक्सौलबाट विरगन्जतर्फ आउँदै गरेको मोटर साइकलको विभिन्न भागमा अवैधरूपमा भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा चार लाख ६७ हजार रुपैयाँ बराबरको मोबाइल पार्टर्स र उक्त कार्यमा प्रयोग भएको मोटर साइकलसहित नियन्त्रणमा लिइ आइतबार वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

आइतबार सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिगएको टोलीले बिन्दवासिनी गाउँपालिका–४ झौवा चोकबाट भारतबाट अवैधरूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको १ लाख ९१ हजार ६ सय ९० रुपैयाँ बराबरको मोटरसाइकलसहित किराना समान नियन्त्रणमा आइतबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डिएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully