छरुवा प्रविधिबाट ६० बिघा खेतमा धान रोपियो
पर्सा — जगरनाथपुर गाउँपालिकाका किसान सुख्खामा छरुवा धान प्रविधिबाट धान खेतीतर्फ आकर्षित भएका छन् । उनीहरुले क्षजिरो टिल सिड कम फर्टिलाइजर ड्रिल मेशिननको माध्यमले परम्परात खेतीभन्दा भिन्न सुख्खा खेतमै धानको बिउ छरेर धान खेती गरिरहेका छन् ।
यो प्रविधिका लागि गाउँकै अगुवा किसान अभय प्रसाद यादवले उक्त उपकरण खरिद गरी एक दशकयता प्रयोगसमेत गरिरहेका छन् । पछिल्लो केही वर्षयता गाउँका अन्य किसानले पनि यादवको उक्त उपकरण भाडामा लिएर छरुवा प्रविधिबाट खेती गर्न थालेका छन् ।
यसवर्ष जगरनाथपुर गाउँपालिका–३ बिजबनियाका किसानले ६० बिघाभन्दा बढी खेतमा यो प्रविधिबाट बर्षे धान बाली लगाइसकेका छन् । यादव आफैंले १६ बिघा जग्गामा रोपाइँ गरिसकेका छन् । उनका छिमेकी जहीर गद्दीले ३, मोजाहिर मियाले ३, लोहा सिंहले साढे दुई, धर्मेन्द्र पटेलले एक बिघामा यो प्रविधिबाट धान खेती गरेका छन् । अन्य थुप्रै किसानले पनि यो उपकरणको मद्दतले धान खेती गरेका छन् ।
ट्याक्टरले चल्ने यो उपकरणले १ घण्टामा ९ देखि १० कठ्ठा खेतमा धानको बिउ छरिसक्छ । २ जना मात्र जनशक्ति खटिएपछि सजिलै यसरी बिउ छर्न सकिन्छ । बिउसँगै रासायनिक मल पनि छर्न सकिन्छ । यादवले ८० हजार रुपैयाँमा दशक अघि यो उपकरण खरिद गरी आफ्नो खेतमा रोपाइँ गरिरहेका छन् । आफ्नो खेतमा प्रयोग गरी सकेपछि छिमेकी किसानलाई प्रतिघण्टा १ हजार ५ सय रुपैयाँमा भाडामा पनि दिने गरेका छन् ।
आफ्नो धेरै खेत रहेको र कृषि मजदुरको भरमा कृषि कर्म गर्दा समयमा रोपाइँ र बाली भित्र्याउनसमेत नसकिने भएपछि आफू यान्त्रिकरणतर्फ आकर्षित भएको यादव बताउँछन् । उनले यान्त्रिकरण आफ्नो रहर र बाध्यता दुवै भएको बताए ।
सुरुमा मेशिनले रोपाइँ गर्दा छिमेकीहरुले नै खिल्ली उडाउने गरेकोमा हाल भने तीनै छिमेकीहरु आफ्नो यो उपकरण भाडामा लिई धान खेती गर्न थालेकोमा उनी खुसी छन् । परम्परागत विधि भन्दा यान्त्रिकरणले रोपाइँको लागत ६० प्रतिशत सम्म घटेको अर्का किसान जहीर गद्दी बताउँछन् ।
यसअघि १ बिघा खेतमा बिउ उखेल्न र रोपाइँ गर्न २० कृषि मजदुर चाहिने गरेकोमा यो उपकरणले धान खेती गर्दा बिउ उखेल्ने र रोपाइँ गर्ने झन्झट नै नहुने उनले बताए । रोपाइँ गर्न खेत हिलाम्ये पनि पार्नु नपर्ने भएकाले सिँचाइ गर्न वा आकाशे पानीको प्रतिक्षा पनि गर्नुनपर्ने उनको अनुभव छ ।
कृषि औजार अनुसन्धान केन्द्र रानिघाटका प्रमुख, इन्जिनियर सचिन कुमार मिश्रा यो उपकरणले एक देखि सवा घण्टाभित्र एक बिघा खेतमा धान रोपाइँ गर्न सकिने बताउँछन् । एकपटक खेत जोतेर धानको बिउ छर्न सकिने भएकाले किसानको सिँचाइको लागत पनि घट्न जाने उनले बताए ।
दशक यता नेपालमा कृषि मजदुरको बढ्दो अभाव तथा जलवायु परिवर्तनका कारण अनावृष्टि, अतिवृष्टि जस्ता समस्या पनि बढ्दै गएको सन्दर्भमा कृषिमा यान्त्रिकरण अपरिहार्य रहेको उनले बताए । किसानले विस्तारै यान्त्रिकरणको महत्त्व बुझ्दै पनि गएकाले स्थानीय तहहरुले प्रत्येक वडामा किसानलाई कृषि कर्ममा आवश्यक पर्ने कृषि उपकरणहरु भाडामा उपलब्ध हुने गरी व्यवस्थापन गर्न सके अधिकांश किसानले यान्त्रिकरणको लाभ उठाउन सक्ने उनले बताए ।
