लागुऔषधसहित एक युवक पक्राउ 

असार १३, २०८२

शिव पुरी

A young man was arrested with drugs

रौतहट — रौतहट प्रहरीले शुक्रबार लागुऔषधसहित स्याङ्जा घर भएका एक युवकलाई सदरमुकाम गौरबाट पक्राउ गरेको छ ।

भारतको बैरगनिया बजारबाट नेपाल आउँदै गरेका स्याङ्जाका ३१ वर्षीय निलकुमार थापा मगरलाई १ सय ५० एम्पुल लागुऔषधसहित गौर भन्सार क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी दीपककुमार रायले जानकारी दिए । 

डीएसपी रायका अनुसार भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका-१ स्थित भन्सार कार्यालय अगाडि जाँच गर्ने क्रममा नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १ सय ५० एम्पुल लागुऔषध तथा एउटा मोबाइल फोनसहित मगरलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका मगरलाई लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully