‘जीटुजी’ को ३० हजार टन युरिया मल कोलकाता बन्दरगाह आइपुग्यो

यसै साता वीरगन्ज भित्रिने, वीरगन्ज, भैरहवा र विराटनगर प्रादेशिक कार्यालयले मल व्यवस्थापन गर्ने

असार १३, २०८२

शंकर आचार्य

30,000 tonnes of urea fertilizer of 'Jeetuji' arrived at Kolkata port

पर्सा — सरकारले बर्खे धान बालीलाई लक्ष्य गरी भारतसँग सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट भित्र्याउन लागेको ३० हजार टन युरिया मल एक साताभित्र वीरगन्ज नाका आइपुग्ने भएको छ ।

भारतको कोलकाता बन्दरगाह आइपुगेको मल नेपाल ल्याउन बोरामा प्याकिङ गर्ने काम जारी रहेको कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले जनाए । 

‘मल प्याकिङ प्रक्रियामा रहेकाले यसै साता नेपाल भित्रिने सम्भावना छ,’ उनले भने, ‘कोलकाताबाट मल ल्याउने रेलवे र्‍याक तीन दिनभित्र वीरगन्ज आइपुग्छ ।’ आदित्य बिरला कम्पनीले यो मल भारतबाट नेपालसम्म ल्याउँदै छ । भारत सरकारबाट उक्त कम्पनीले यो कन्साइन्मेन्टको मल आपूर्तिको ठेक्का पाएको छ । 

यसअघि कम्पनीको ३० हजार टन युरिया मलको कन्साइन्मेन्टअन्तर्गत दोस्रो रेलवे र्‍याक बुधबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको पाण्डेले जनाए । ‘पहिलो र्‍याक रक्सौलमा आएको थियो भने दोस्रो र्‍याक सुक्खा बन्दरगाह आइपुगेको हो,’ उनले भने, ‘एक र्‍याकले सामान्यतया २ हजार ५ सय टन मल बोक्छ ।’ यो कन्साइन्मेन्टबाट कम्पनीले ३० हजार टन युरिया मल भित्र्याउन लागेकामा तत्कालका लागि १६ हजार टन मात्र आउने पाण्डेले बताए । 

कम्पनीको ३० हजार र साल्ट ट्रेडिङको ३० हजार टन युरिया मलको आपूर्तिकर्ता सन इन्टरनेसनल नै हो । यसले कतारबाट एउटा जहाजमा हाल ३५ हजार टन मात्र मल ल्याएकाले तत्काललाई दुवै संस्थानले १६/१६ हजार टन मात्र युरिया मल पाउने पाण्डेको भनाइ छ । 

आपूर्तिकर्ता कम्पनीले दोस्रो पानीजहाजबाट बाँकी मल ल्याएपछि उक्त कन्साइन्मेन्टको मल क्रमशः नेपाल भित्रिनेछ । हाल आइरहेको १६ हजार टन युरियामध्ये वीरगन्ज कार्यालयले ६ हजार ७ सय टन पाउनेछ । बाँकी भैरहवा एवं विराटनगर प्रादेशिक कार्यालयले भागबन्डा गर्नेछन् । 

निरन्तर रूपमा युरिया मल भित्रिन थालेको र ‘जीटुजी’को मल पनि आउने पक्का भएकाले आउँदो बर्खे धान बाली सिजनमा युरिया मलको माग पूरा हुनेमा आफू आशावादी रहेको पाण्डेले जनाए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully