जनकपुर — मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटप्रति सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले पनि असन्तुष्टि जनाएको छ । बिहीबार संसदीय दलको बैठक बसेर जनमतले असन्तुष्टि जनाएको हो ।
दलकै बैठकले मुख्य तीन वटा निर्णय गरेको संसदीय दलका नेता महेशप्रसाद यादवले बताए । उनका अनुसार रेडबुकमा आफ्ना पार्टीका नेता तथा मन्त्रीहरूले सिफारिस गरेका योजना कटौती गरिएकfले पार्टी केन्द्रीय कार्यालयलाई जानकारी दिने, प्रदेशसभा बैठक अनिश्चितकालका लागि कुन कारणले स्थगित भएको हो भन्नेबारे बुझ्न मधेश प्रदेशसभामा पत्र पठाउने र संशोधनको लागि माग गर्ने निर्णय गरिएको हो । सार्वजनिक भएको कार्यक्रम पुस्तिका (रेडबुक)मा व्यापक फेरबदल गरिएको उनको भनाइ छ । उनले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई बजेट फेरबदलको दोष दिए ।
मधेश सरकारमा जनमतका सतीशकुमार सिंहले नेतृत्व गरिरहेका छन् भने अर्थमन्त्री कांग्रेसका सुनीलकुमार यादव हुन् ।सभामुख रामचन्द्र मण्डलले सरकारको सिफारिसमा बैठक स्थगित भएको बताए । सरकारको मन्त्रिपरिषद् बैठक बस्न लागेको भन्दै बैठक स्थगन गर्न अनुरोध आएपछि स्थगित गरिएको उनको भनाइ छ । उनले भने, ‘प्रदेशसभाले बैठक स्थगन गर्ने पत्र मागेकै हो, तर सरकारले मन्त्रिपरिषद् बैठक बस्न लागेको, त्यसपछि पठाउने भनेको थियो ।’
गृह, सञ्चार तथा कानून मन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखीले मन्त्रिपरिषद् बैठकमा प्रदेशसभा स्थगनको विषयमा कुनै छलफल नभएको बताए । जुन हिसाबले नीति तथा कार्यक्रम आएको थियो, त्यो आधारमा बजेट नआएको उनको पनि स्वीकारोक्ति छ । उनले भने, ‘एक–दुई दिनमा छलफल हुन्छ । गठबन्धनको बैठक आवश्यक भएको छ । त्यो बैठकले सत्य तथ्य बाहिर ल्याउनेछ होला, अहिले आरोप मात्रै बाहिर आएका छन् ।’
