पर्साबाट ३१९ किलो चरेस बरामद

असार १२, २०८२

कान्तिपुर संवाददाता

319 kg hashish recovered from Parsa

पर्सा — पर्सा प्रहरीले लागुऔषध तस्कर गिरोहबाट ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । बरामद गरिएको ३१९ किलो चरेसको बजार मूल्य करिब एक करोड रुपैयाँ रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले लागुऔषध तस्करीमा संलग्न एक व्यक्तिलाई बरामद चरेससहित सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकबाट उक्त चरेस बरामद गरिएको बताए ।

बुधबार दिउँसो काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको उक्त ट्रकमा लागुऔषध चरेस लोड गरिएको भन्ने विशेष सूचना प्रहरी चौकी सिर्सियाका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक गगनबहादुर शाहीलाई प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले ट्रकको खोजतलास सुरु गरेको थियो ।

त्यस क्रममा बुधबार राति साढे ७ बजे वीरगञ्ज महानगरपालिका–२१, परवानीपुर चोकस्थित सडकखण्डमा रोकी राखिएको अवस्थामा ट्रक फेला परेको थियो । ट्रकका चालक मकवानपुर, थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिई ट्रक तथा चालकको कानुनी खानतलासी गर्दा ट्रकको पछाडिको सामान बोक्ने भागमा सेतो प्लास्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइछिपाइ राखिएका १३ वटा पोका चरेस फेला परेका थिए, जसको तौल ३१९ किलो रहेको छ ।

चालक स्याङ्तानले लगाएको हाफ पाइन्टको दाहिने खल्तीबाट एक लाख ९२ हजार रुपैयाँ पनि फेला परेको छ । स्याङ्तानविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा बिहीबार पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए । सोधपुछका क्रममा स्याङ्तानले उक्त चरेस धादिङ जिल्लाबाट बोकेको र वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह क्षेत्रबाट भारत पुर्‍याउने योजना रहेको बताएका छन् ।

यसअघि लागुऔषध गाजामात्र ठूलो परिमाणमा फेला परिरहेकामा यसपटक त्योभन्दा बढी संवेदनशील मानिने चरेस बरामद गर्न सफलता मिलेको प्रहरीले जनाएको छ । विशेष गरी मकवानपुर र धादिङका विकट क्षेत्रमा गरिने गाजा र चरेसको खेती तथा उत्पादनपछि लागुऔषध तस्कर गिरोहले पर्सा राष्ट्रिय निकुञ्जको बाटो र मालवाहक सवारीसाधनमा लुकाईछिपाई वीरगञ्ज तथा पर्साका ग्रामीण नाकाबाट भारत पुर्‍याउने गरेको प्रहरीले जानकारी दिएको छ ।

कान्तिपुर

Link copied successfully