वीरगन्ज — वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोडः रुपैयाँ सङ्कलन गरेको छ।
कार्यालयले चालु आवको ११ महिनामा पाँच थरीका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रुपैयाँ रकम खर्चिएको छ। आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव ४३ प्रतिशत रहेको छ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगन्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए। त्यस्तै, दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट १७ अर्ब ७० करोड रुपैयाँ रकम प्राप्त भएको छ। आयातबाट प्राप्त राजस्वमा यातायातका साधन र पार्टपुर्जाको हिस्सा भने ११ दशमलव २३ प्रतिशत छ।
त्यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट पाँच अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। मेसिनरी तथा पार्टपुर्जा आयातबाट पाँच अर्ब २६ करोड रुपैयाँ सङ्कलन गरिएको छ। इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब ६७ करोड रुपैयाँ सङ्कलन गरिएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए।
चालु आवकै ११ महिनामा सबै प्रकारका कपडा आयातबाट तीन अर्ब छ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। सोही अवधिमा सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट दुई अर्ब ५८ करोड, शृङ्गारका सामान आयातबाट दुई अर्ब ५२ करोड, प्लास्टिकका कच्चा पदार्थ आयातबाट दुई अर्ब ३२ करोड तथा अन्य लुब्रिकेटिङ आयलको आयातबाट दुई अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिए ।
