१५ मध्ये १४ स्थानीय तहको समयमा सभा, जलेश्वरको सभा हुन सकेन
महोत्तरी — महोत्तरीका ६ स्थानीय तहले मंगलबार बजेट ल्याएका छन् । गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, औरही नगरपालिका, बलवा नगरपालिका, पिपरा गाउँपालिका र सोनमा गाउँपालिकाले मंगलबार बजेट ल्याएको हुन् ।
यसअघि रामगोपालपुर, मनरासिशवा, एकडारा, लोहरपट्टी, मटिहानी, महोत्तरी, सम्सी र भंगहाले बजेट र नीति तथा कार्यक्रम ल्याएका थिए । महोत्तरीको १५ स्थानीय तहमध्ये जलेश्वर नगरपालिका बाहेक १४ स्थानीय तहले बजेट र नीति तथा कार्यक्रम ल्याएका छन् ।
मंगलबार गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले १४ औँ नगरसभामा आर्थिक वर्ष २०८२/८३ को लागि १ अर्ब १ लाख ५५ हजार ५०० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । संघीय सरकार अनुदानबाट ५० करोड २४ लाख, प्रदेश सरकार अनुदानबाट २ करोड ५५ लाख १७ हजार, राजश्व बाँडफाँडबाट २० करोड, ७ लाख ३८ हजार ३९२ र आन्तरिक स्रोतबाट २७ करोड १५ लाख १०८ रुपैयाँ गरी कुल १ अर्ब १ लाख ५५ हजार ५०० रुपैयाँको आय व्ययसहितको बजेट विनियोजन गरिएको नगरप्रमुख डा. महतोले बताए ।
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रहलद क्षेत्रीले १६ औं बजेट, नीति तथा कार्यक्रममा १ अर्ब २२ करोड ४० लाख १० हजारको बजेट ल्याएको छ । बर्दिवास नगरपालिकालाई शैक्षिक हबको रुपमा बिकास गर्ने योजनालाइ प्राथमिकतामा राखेर आर्थिक वर्ष ०८२/०८३ को बजेट ल्याएको क्षेत्रिले बताए । नगरप्रमुख क्षेत्रिले प्रस्तुत गरेको नीति कार्यक्रममा पालिकालाई शैक्षिक हब बनाउनका लागि विद्यालयको भवन निर्माण, खेल मैदान, विद्यालयमा सीसीटिभी, विद्यालयमा सूचना प्रविधिको विकास गर्ने, उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी, कर्मचारी तथा शिक्षा र खेलखुदमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने नगर प्रमुख क्षेत्रीले बताए ।
औरही नगरपालिकाको १६ औं नगरसभामा नगर प्रमुख प्रदिपकुमार खड्काले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड २७ लाख ७७ हजारको बजेट प्रस्तुत गरेका छन् । बलवा नगरपालिकाका नगरप्रमुख रामविजय महतोले ५२ करोड ९१ लाख ९४ हजार ५७६ रुपैयाँको बजेट ल्याएका छन् । सोनमा गाउँपालिकाकाका अध्यक्ष विशेश्वरप्रसाद यादवले ४९ करोड ३८ लाख बजेट प्रस्तुत गरेका छन् । पिपरा गाउँपालिकाकी उपाध्यक्ष बन्दना पाण्डेले ५३ करोड ५१ लाख ४७ हजार ३ सय रुपैयाँको बजेट प्रस्तुत गरेकी छिन् ।
