सिरहा — सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डंगराहामा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ । स्थानीय ६२ वर्षीय रामपृत पण्डितको गएराति ज्यान गएको हो ।
प्रहरीका अनुसार उनी आइतबार साँझदेखि नै आफ्नै धानखेतमा पानी पटाइरहेका थिए । सोही क्रममा करेन्ट लागेर उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ ।
सोमबार बिहान करिब ८ बजे रामपृतका छोरा खेतमा पुग्दा उनी मृत अवस्थामा फेला परेको वडाध्यक्ष नन्दकुमार महतोले जानकारी दिए । प्रहरी अहिले घटनास्थल पुगेर मुचुल्का तयार गरी शव उठाइरहेको छ ।
यस विषयमा थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए ।
