पर्सा — कृषि मजदुरको बढ्दो अभाव र जलवायु परिवर्तनको बढ्दो प्रभावसँग सामञ्जस्य मिलाउँदै कृषि फर्महरूको व्यवस्थापन र जलवायु मैत्री प्रविधि अपनाउन आवश्यक भइसकेको सरोकारवालाहरूले बताएका छन् ।
कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश परवानीपुरद्वारा आयोजित विभिन्न प्रविधिहरू सम्बन्धी दुई दिने तालिमको सोमबार आयोजित उद्घाटन सत्रका वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।
निर्देशनालयका निर्देशक डा. विश्वेश्वरप्रसाद यादवले बढ्दो कृषि मजदुर अभावको विकल्पको रूपमा धान, गहुँ, मकै लगायतका सम्पूर्ण बालीमा यान्त्रीकरण अपरिहार्य भएको बताए । ‘शून्य जोताई प्रविधि र सुपर सिडर, ड्रम सिडर, राइस ट्रान्सप्लान्टरजस्ता कृषि यन्त्र किसानका लागि अपरिहार्य भई सकेको छ,’ उनले भने, ‘युवाहरू बिदेसिने क्रम बढेकाले कृषि कर्ममा खटिएका महिला र वृद्धमैत्री कृषियन्त्रको आविष्कार पनि हुनु पर्छ ।’
डा. यादवले सबै पालिकाहरूले कस्टम हायरिङ सेन्टर निर्माण गरेर कृषियन्त्रहरू किसानलाई भाडामा प्रयोग गर्न दिने व्यवस्था गर्नु आवश्यक रहेको बताए । कृषि ज्ञान केन्द्र तथा अन्य कार्यालयले किसानलाई बाँडेकामध्ये ६० प्रतिशत कृषियन्त्र बिग्रेर काम नलाग्ने भएको र तीनको मर्मत गर्ने प्राविधिक जनशक्ति पनि उपलब्ध नहुने समस्या बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामजीवन ठाकुरले जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्ने बताए । उनले छरुवा धान प्रविधिबाट खेती गर्दा १०/१५ दिनअघि नै बाली भित्र्याउन सकिने बताए । किसानलाई अनुदान दिँदा पनि उपयोगी उपकरणहरूलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
निर्देशनालयका वैज्ञानिक डा. आनन्द मिश्रले बारा,पर्सा र रौतहटका किसानको सबलीकरण वृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउँदै निर्देशनालयमा यान्त्रीकरणलाई उच्च प्राथमिकतामा राखिएको बताए ।
