हुण्डी कारोबारमा संलग्न एक भारतीय पक्राउ

असार ९, २०८२

शंकर आचार्य

An Indian involved in Hundi business was arrested

काठमाडौँ — हुण्डी कारोबारमा संलग्न एक भारतीयलाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको मोतिहारी जिल्लास्थित रक्सौल थाना क्षेत्रका ५० वर्षीय प्रभु साह हुन् ।

असार ६ गते दिउँसो करिब १:३० बजे वीरगन्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट उनलाई नगद तीन लाख ४६ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

ईनर्वा प्रहरी चौकीबाट खटिएको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा साह शंकास्पद रूपमा साइकल चलाउँदै भारतबाट वीरगन्जतर्फ आइरहेका अवस्थामा रोकी खानतलासी गर्दा उनले बोकेको झोलाभित्र लुकाइछिपाई राखिएको नगद बरामद भएको थियो ।

बरामद नगदमा हजार दरका ३४४ थान र सय दरका २० थान नोट रहेका थिए ।

साहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully