पर्सा — मुलुकलाई प्याजमा आत्मनिर्भर बनाउन स्वदेशमै यसको खेतीलाई प्रोत्साहित गरिनु पर्ने सरोकारवालाले बताएका छन् । कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश परवानीपुरद्वारा संचालित दुई दिने व्यावसायिक प्याज उत्पादन तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सरोकारवालाहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाराका प्रमुख डा हरेराम यादवले अधिकांश नेपालीको भान्सा भित्रिने तरकारी प्याजको स्वदेशमा व्यावसायिक खेती नगरेर बर्सेनि भारतबाट ठूलो परिमाणमा आयात हुनु दुःखद् भएको बताए । उनले नेपालको माटो र हावापानी सुहाउँदो भए पनि नेपालमा व्यावसायिक प्याज खेती नफस्टाउनु कृषिप्रधान देशको लागि नै चुनौतीको विषय भएको बताए ।
केन्द्रका निर्देशक डा विशेश्वरप्रसाद यादवले सफल कृषि अनुसन्धानबिना कृषिमा आत्मनिर्भरता सम्भव नरहेको बताए । केन्द्रको स्वदेशमै प्याजको बिऊ उत्पादन गर्ने लक्ष्य रहेको भन्दै डा यादवले देशलाई प्याज उत्पादनमा आत्मनिर्भर बनाउन सके बर्सेनि अर्बौं रुपैयाँको प्याजको आयात पनि घट्न जाने बताए ।
प्याज बालीमा हाल समस्याको रुपमा देखिएको किराको नियन्त्रण गर्न आवश्यक रहेको भन्दै डा यादवले किसानले प्याज खेती गर्न छोड्ने प्रवृत्तिलाई पनि निरुत्साहित गर्दै किसानलाई यसको खेती गर्न हौस्याउनु पर्ने बताए । जलवायु परिवर्तनले पनि प्याजको आकार सानो बनाउँदै लगेकाले यसतर्फ पनि गम्भीर हुनु पर्ने बेला आएको उनको भनाइ थियो ।
पर्सा, बारा र रौतहटका गरी ३० अगुवा किसान सहभागी रहेको तालिममा किसानलाई प्याज खेतीको विविध पक्षबारे जानकारी दिन निर्देशनालयका कृषि वैज्ञानिक डा प्रमोद वाग्ले, प्राविधिक अधिकृत डा सुरेशकुमार साह, वैज्ञानिक डा आनन्द मिश्रले विषयगत प्रस्तुति दिएका छन् ।
