जनकपुर — जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसका दुई जना विद्यार्थी नेता पक्राउ परेका छन् । राराबका स्ववियु सभापति मनिष यादव र चमनप्रसाद गोइत पक्राउ परेका हुन् ।
बीबीएस तेस्रो वर्षका विद्यार्थीलाई परीक्षा प्रवेश पत्र बाँड्न ढिलाइ भएपछि क्याम्पस प्रमुख वसन्त कर्णसँग विवाद भएको थियो । प्रहरी विवाद साम्य पार्न खोज्दा विद्यार्थी नेताहरुले उनीहरूसँग पनि अभद्र व्यवहार गरेको धनुषाको डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार प्रहरी निरीक्षक जिवछ सिंहको औंला भाँच्चिएको छ ।
अहिले विद्यार्थीहरु क्याम्पस चोकमा विद्यार्थी नेताको रिहाइको माग गर्दै सडक जाम गरेर प्रदर्शन गरिरहेका छन् । राराबमा यस वर्ष बीबीएस तेस्रो वर्षमा १२ सय विद्यार्थी परीक्षा दिँदैछन् । प्रवेशपत्र काठमाडौंबाट आउन नै ढिलाइ हुँदा वितरणमा पनि ढिलाइ भएको क्यम्पस प्रमुख कर्णको भनाइ छ ।
