मधेश प्रदेश सरकारले फिड द नेशन (देशलाई नै खाना खुवाउने) नीति ल्याउँदै यसवर्षदेखि धानको दुई वाली प्रवर्धन गर्ने योजना ल्याएको छ ।
काठमाडौँ — मनसुन सक्रिय हुन थालेपनि मधेश प्रदेशमा अझै रोपाइको चटारो सुरु भएको छैन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डलले यसपाला बेर्ना तयार पार्न नै ढिला भएकाले रोपाइँ सुरु हुन पनि ढिलो हुने भएको हो । उनले अर्का सातादेखि मात्रै मधेश प्रदेशमा धान रोपाइ धमाधम सुरु हुने बताए ।
फाइल फोटो
मधेशका जिल्लाहरुमा यतिबेला धान रोपाइका लागि खेत तयार पार्ने काम भइरहेको छ । अधिकृत मण्डलले तराई–मधेशमा २५ दिनसम्म हुर्केको बेर्ना रोप्न लायक हुनेगरेको बताउँदै यसपाला बिउ राख्ने बेलामा अधिका पानी परेकाले धेरैको खेत डुबेर विउ राख्न ढिला भएको उनले बताए । उनले जेठको ५ गतेदेखि छरिएको बेर्ना बल्ल तयार भएको र मनसुन पनि यही समयमा सक्रिय भएकाले मधेशमा धान रोपाइँ केही दिनमा सुरु हुने बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार मधेशमा ४ लाख १ हजार ६५० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । मधेश प्रदेश सरकारले फिड द नेशन (देशलाई नै खाना खुवाउने) नीति ल्याउँदै यसवर्षदेखि धानको दुई वाली प्रवर्धन गर्ने योजनासमेत ल्याएको छ । गत वर्ष भदौ १ गतेसम्म मधेस प्रदेशमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
कृषि मन्त्रालयका अनुसार नेपालमा रोपाइँ पहाड र सुदूरपश्चिमबाट सुरु हुन्छ । त्यसपछि अन्य क्षेत्रमा हुन्छ । मुलुकभर १३ लाख ९८ हजार २ सय ७४ हेक्टरमा रोपाइँ हुने गरेको छ ।
