उपचार खर्च अभावमा अस्पतालबाट घर फर्किन समस्या

असार ५, २०८२

शंकर आचार्य

Difficulty returning home from the hospital due to lack of treatment expenses

पर्सा — अर्थ अभावका कारण यहाँकी एक महिला उपचारपछि घर जान नसक्ने भएकी छिन् । 

जिराभवानी गाउँपालिका–५ हरैयाकी २२ वर्षीया सहनाज खातुन वीरगन्जस्थित नीलकण्ठ अस्पतालमा जेठ १९ देखि उपचाररत छिन् । किटनाशक सेवन गरेर आत्महत्या प्रयास गरेकी उनको ज्यान अस्पतालले जोगाए पनि सहनाजको परिवारले अस्पतालको उपचार खर्च र औषधिको बिल तिर्न सकेको छैन । सहनाज हाल आइसीयू कक्षमा उपचाररत छिन् ।  

पति नुरआलम मियाँ विराटनगरमा मजदुरी गर्दै छिन् । नन्द बबिता खातुन कुरुवा बसेकी छिन् । बबिताका अनुसार, अस्पतालको करिब २ लाख ३५ हजार रुपैयाँ शुल्क बक्यौता छ । औषधि पसलको बक्यौता पनि २ लाखभन्दा बढी पुगेको छ । चिकित्सकले २/३ दिनभित्र डिस्चार्ज गर्न सकिने बताए पनि अर्थ अभावले अस्पताल र औषधि पसलको बक्यौता बुझाएर आफूले भाउजुलाई घर लग्न नसक्ने उनले बताइन् ।

‘यसअघि गाउँबाट ऋण गरेर अस्पताल र औषधि पसलको २ लाख १५ हजार तिरिसक्यौं,’ उनले भनिन्, ‘अब साहु महाजनले पनि पत्याउन छाडे, आफ्नो हात खाली छ, कहाँबाट यत्रो पैसाको जोहो गर्ने केही सोच्न सकेकी छैन ।’

सामाजिक अभियन्ता प्रकाश थारुले आफूले व्यक्तिगत रुपमा ५ हजार नगद र एक दिनको औषधिको खर्च सहनाजलाई दिएको बताए । दैनिक उपचारमा ठूलो राशी खर्च भइरहेकाले मनकारीहरुले सहयोग नगरे सहनाजको उपचार सम्भव नरहेको उनको भनाइ छ ।

अस्पतालका चिकित्सक डा तेजनाथ तिवारीले अस्पतालले हालसम्म सहनाजको परिवारलाई अस्पतालको बक्यौता रकमको लागि दबाब नदिएको बताए । ‘हामीले उनको पारिवारिक तथा आर्थिक अवस्था बुझेकाले हाललाई बक्यौता तिर्न दबाब दिएका छैनौं,’ उनले भने, ‘तर औषधि पसल हाम्रो अधीनमा नरहेकाले औषधि पसलको बक्यौतामा हामीले चाहेर पनि केही सहयोग गर्न सक्दैनौं ।’

औषधि पसलको बक्यौता भुक्तानी भएको खण्डमा अस्पताल प्रशासनले आफ्नो बक्यौता पूर्ण रुपले मिनाहा गर्न सक्ने पनि बताए । ‘हाम्रा लागि सहनाजको ज्यान जोगाउनु ठूलो चुनौतीको कुरो थियो, त्यसमा हामी सफल भयौं,’ डा तिवारीले भने, ‘पैसाको लागि उनलाई बन्धक राख्ने हाम्रो नियत छैन ।’ 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully