सिरहा — सिरहामा युवतीले युवकमाथि चक्कु प्रहार गरेकी छिन् । गोलबजार नगरपालिका-४, गोलबजारस्थित एक घरमा बिहीबार अपराह्न युवकमाथि चक्कु प्रहार भएको हो ।
गोलबजार-२ की १७ वर्षीया अनिशा मण्डलको चक्कु प्रहारबाट गोलबजार-१३ का बासिन्दा २४ वर्षीय अशोककुमार महतो घाइते भएका छन् । अशोक यहाँ कोठा भाडामा लिएर बस्दै आएका थिए ।
युवती ती युवकको कोठामा आएर केही समय बसेको र त्यसपछि घाँटीसहित शरीरका अन्य भागमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । युवकको गोलबजारस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार, घरभित्र हल्लाखल्ला भएपछि स्थानीयहरू घरभित्र पस्दा युवती घरभित्रैको भर्याङ हुँदै छतमाथिबाट हाम फालेकी थिइन् । उनको पनि शरीरमा चोट लागेको देखिएको र उनको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूबीच प्रेम सम्बन्ध रहँदै आएको र भेटघाट हुँदै आएको देखेको स्थानीयले बताए । यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
