पर्सा — सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगन्जबाट २२ लाखभन्दा बढीको तस्करीका सामान बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका-६ रेशमकोटीस्थित २ नम्बर रोडमा रहेको रमेश अग्रवालको घरबाट आइतबार साँझ उक्त सामान बरामद भएको हो । २ तल्ले पक्की घरको भुँइतलामा २ वटा कोठा भाडामा लिई सञ्चालनमा रहेको जीके ट्रेडर्सको गोदाममा ती सामान बरामद भएको हो ।
भारतबाट भन्सार छली ल्याई अवैध रुपमा राखेको अवस्थामा २२ लाख ७१ हजार ९ सय ५० रुपैयाँ बराबरको तयारी कपडा (भेस्ट, जिन्सको पाइन्ट, टिसर्ट) बरामद भएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी देवेन्द्रबहादुर सिंहले बताए । सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
