घरघरमै गएर बिरामी खोज्दै लहान नगरपालिका 

असार १, २०८२

विनय आजाद

Lahan municipality looking for patients from house to house

सिरहा — सिरहाको लहान नगरपालिकाले उच्च रक्तचाप, मधुमेहलगायतका नसर्ने रोगका बिरामी पत्ता लगाउन साताव्यापी नि:शुल्क शिविर सुरु गरेको छ । लहान नगरपालिका-१२ पडरियाबाट आइतबारदेखि यसको आरम्भ गरिएको हो ।

यसअन्तर्गत नगरपालिकाका स्वास्थ्यकर्मीहरूले २४ वटै वडाका नागरिकहरूको घर-घरमै गएर स्वास्थ्य जाँच गरी उच्च रक्तचाप, मधुमेहलगायतका रोगका बिरामी पत्ता लगाउने छन् । यी रोग भेटिने बिरामीलाई थप उपचारका लागि स्वास्थ संस्थामा पठाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार, यसै शिविरमा नियमित औषधि सेवन गरिरहेका विरामीहरूलाई औषधि पनि प्रदान गर्ने कार्य भइरहेको छ । यो शिविर एक सातासम्म चल्ने स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले जानकारी दिए ।

नगरपालिकामा रहेका १२ वटा स्वास्थ्य चौकी र ४ वटा आधारभूत स्वास्थ्य केन्द्र गरी सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई यो शिविरमा परिचालन गरिएको छ । स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार, सर्नेभन्दा नसर्ने रोगहरुबाट ७० प्रतिशत नागरिकको ज्यान जाने गरेको छ ।

नागरिकको रोग समयमै पहिचान भएर उपचार गर्न सजिलो होस् र मृत्युको जोखिम घटोस् भन्ने उद्देश्यले यो शिविर सञ्चालन गरिएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताए ।  लहान नगरपालिकाले गत वर्ष पनि यो कार्यक्रम सञ्चालन गरेको थियो । जसबाट ४ हजारबढी सर्वसाधारण लाभान्वित भएका थिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully