सप्तरीमा कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु

जेष्ठ ३०, २०८२

विद्यानन्द राम

A motorcyclist died after being hit by a container in Saptari

राजविराज — सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा चोकमा शुक्रबार बिहान कन्टेनरले किच्दा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत राजविराजतर्फ आउँदै गरेको ना ३ ख ४५३१ नम्बरको कन्टेनरले स ६ प २२१ नम्बरको मोटरसाइकल चालकलाई किचेको हो । मोटरसाइकल चालकको दुर्घटनास्थलमै मृत्यु भएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार पहिचान खुल्न नसकेका मोटरसाइकल चालकले सडक क्रस गरिरहँदा कन्टेनरले ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने कन्टेनरमुनि रहेको शव निकाल्ने प्रयास भइरहेको छ । अनियन्त्रित भएको कन्टेनरले सडक छेउको घुम्तीमा पनि ठक्कर दिँदा क्षति पुर्‍याएको छ । कन्टेनर पनि चल्ने अवस्थामा नरहेकोले कन्टेनर उठाउन क्रेन ल्याउने समन्वयन भइरहेको एसपी खतिवडाले बताए ।

कन्टेनर चालक काभ्रेको पाँचखाल नगरपालिका–६ का ५६ वर्षीय गोपालनाथ राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully