ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते

जेष्ठ ३०, २०८२

शंकर आचार्य

2 people died, 1 was seriously injured when a motorcycle collided with a truck

पर्सा — वीरगन्जमा शुक्रबार बिहान रोकीराखेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैयाका २३ वर्षीय रामाकान्त यादव र सोही ठाउँ बस्ने २३ वर्षीय विजय यादवको नारायणी अस्पतालमा बिहान ८ बजे उपचारको क्रममा मृत्यु भएको हो।

बिहान ५ बजेको समयमा वीरगन्ज महानगरपालिका–२२ ड्राईपोट सडक खण्डस्थित सिताराम चोकमा उक्त दुर्घटना भएको थियो।

एचआर ५५ के ३९७१ नम्बरको भारतीय  ट्रकको पछाडिबाट सिर्सियाबाट सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको बा प्र ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 

दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का व्यक्ति सोही ठाउँका २२ वर्षीय विजय कुमार यादव गम्भीर घाइते छन्। उनको उपचार भइरहेको छ। ट्रक चालक फरार रहेको र उनको खोजतलास भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully