पर्सा — सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका-१६, नगवा गाउँस्थित डम्पिङ साइट नजिकबाट बिहीबार तस्करीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा भन्सार छली गरी ५ वटा साइकलहरुमा ल्याउँदै गरेको अवस्थामा ७ लाख ६७ हजार ९ सय रुपैयाँ बराबरको कपडा र साइकल तथा उक्त चोरीपैठारी कार्यमा संलग्न व्यक्तिले प्रयोग गरेको ना १६ प ६२७५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएकाो छ । मोटरसाइकलको १ लाख ५० हजार रुपैयाँ भन्सार मूल्यांकन गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
बिहीबार नै सोही गुल्मले वीरगन्ज-१६, स्थित विभिन्न सीमा नाकाहरुबाट अवैध रुपमा भन्सार छली लुकाइछिपाई विभिन्न सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको ४ लाख २६ हजार १ सय २०रुपैयाँ बराबरको इलेक्ट्रोनिकलगायत अन्य सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी देबेन्द्रबहादुर सिंहले जानकारी दिए ।
