राजविराज — सुन र सुनका गरगहनामा लागू गरिएको दुई प्रतिशत विलासिता कर खारेज हुनुपर्ने लगायत छ बुँदे माग राखेर सप्तरीका सुनचाँदी व्यवसायी पनि आन्दोलित भएका छन् । बिहीबार उनीहरुले राजविराजमा पत्रकार सम्मेलन गर्दै आन्दोलनबारे जानकारी गराएको हो ।
उनीहरुले विलासिता कर लागू हुँदा १३ प्रतिशत पनि जोडेर व्यवसायीलाई १९ प्रतिशतसम्म कर तिर्नु पर्दा उपभोक्ता मारमा पर्ने चिन्ताले आन्दोलन गर्ने अवस्था आइलागेको सप्तरी सुनचाँदी उद्योग व्यवसायी संघका अध्यक्ष नारायण रञ्जनले बताए । ‘त्यसरी हुँदा सुनको रेट र बिलमा देखिने रेटमा पनि फरक पर्न जान्छ,’ उनले भने ।
उनीहरुले हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज हुनुपर्ने, सुनचाँदीको कारोबारलाई दिर्घकालीन रुपमा प्रोत्साहित गर्न ऐन, नियम तथा नीतिहरु निर्माण हुनुपर्ने माग गरेका छन् ।
त्यस्तै, कर संरचना परिवर्तन गर्नुपूर्व मौजुदा व्यवसाय, रोजगार तथा बजारमा पर्ने दूरगामी प्रभावको विस्तृत अध्ययन गरी मात्रै करको दायरा बढाउनुपर्ने, छिमेकी मुलुक भारतमा सरह नै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम हुनुपर्ने पनि उनीहरुको माग छ ।
विश्व बजारको मान्यताअनुसार गुणस्तर प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्यावको व्यवस्था हुनुपर्ने र निर्यात ढुवानीमा दुई दशमलव ५ प्रतिशत ‘टीडिएस’ लाग्ने व्यवस्था खारेज हुनुपर्ने पनि माग राखेर उनीहरु आन्दोलित भएका हुन् ।
